कीर्तिपुर नयाँ बजारमा आइतबार आयोजित चुनावीसभामा बोल्दै श्रेष्ठले त्रिविलाई शैक्षिक पर्यटन केन्द्रमा रूपान्तरित गर्दै स्थानीय कीर्तिपुरवासीको रोजगारी प्रवर्द्धन गर्ने बताए ।
What you should know
काठमाडौँ — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं- १० मा एमालेबाट उम्मेदवार बनेका विनोद श्रेष्ठले त्रिभुवन विश्वविद्यालयलाई शैक्षिक पर्यटन केन्द्रको रुपमा रुपान्तरण गर्ने बताएका छन् ।
कीर्तिपुर नयाँ बजारमा आइतबार आयोजित चुनावीसभामा बोल्दै श्रेष्ठले त्रिविलाई शैक्षिक पर्यटन केन्द्रमा रूपान्तरित गर्दै स्थानीय कीर्तिपुरवासीको रोजगारी प्रवर्द्धन गर्ने बताए । उनले त्रिभुवन विश्वविद्यालयलाई चुनावी रणनीतिका रूपमा अगाडि सारेका छन् । उनले भने, 'नेपाली समाज, संस्कृति, सभ्यता र पर्यावरणको अध्ययन गर्न विश्व समुदायका विद्यार्थीहरूलाई आमन्त्रण गरिने छ ।'
जिफन्टका अध्यक्षसमेत रहेका श्रेष्ठले त्रिभुवन विश्वविद्यालय अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गर्दै सूचना प्रविधि, शैक्षिक सामग्री उत्पादन गर्ने उद्योग र अन्तर्राष्ट्रिय विद्यार्थीहरू बसोबास गर्ने होमस्टेहरू कीर्तिपुरमा सञ्चालन गर्ने अवधारणा पनि अघि सारे ।
श्रेष्ठले कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरि नगरपालिकाका सबै वडाको अध्ययन गर्न विज्ञ टोली खटाइएको समेत दाबी गरे । 'हरेक वडा र टोलको छुट्टै विकास योजना हुनेछन्,' उनले भने ।
सभामा अशोक राईको संयोजनमा जनसांस्कृतिक महासंघका कलाकारहरूले नेपाली, नेवारी र तामाङ भाषामा सांस्कृतिक प्रस्तुति दिएका थिए ।
श्रेष्ठले आजै काठमाडौं १० अन्तर्गत चन्द्रागिरिका जेन-जी युवाहरूसँग समेत अन्तरक्रिया गरेका छन् ।
८३ हजार ३०१ मतदाता रहेको काठमाडौं-१० मा खस-आर्यतर्फ ५२ प्रतिशत, आदिवासी जनजातितर्फ ३६ प्रतिशत र दलित र मधेसी मतदाता क्रमशः ८ प्रतिशत र ४ प्रतिशत रहेको छ । यस क्षेत्रमा श्रेष्ठसँगै कांग्रेका हिमाल कार्की, नेपाली कम्युनिस्ट पार्टीकी रूपा महर्जन, रास्वपाका प्रदीप विष्टलगायत २५ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।
