पोल्ट्री क्षेत्रमा एण्टिबायोटिक औषधि प्रयोग हुन्छ भन्ने भ्रममा नपर्न आग्रह

दाना उद्योग संघका महासचिव केशवराज थापाले सन् २०१६ यता दानामा एण्टिबायोटिक औषधि प्रयोग नगरिएको दाबी गरे ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Appeal not to be misled by the misconception that antibiotics are used in the poultry sector

What you should know

काठमाडौं — मध्यपुर ठिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले पोल्ट्री क्षेत्रमा एण्टिबायोटिक औषधि र हर्मोन प्रयोगबारे फैलिएका भ्रम वैज्ञानिक तथ्यले खण्डित भइसकेको र त्यसप्रति भ्रमित नहुन आग्रह गरेका छन् ।

नेपाल दाना उद्योग संघले भक्तपुरको मध्यपुर ठिमीमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले कुखुराको मासु र अण्डा प्रोटिनका सुलभ, सुरक्षित र भरपर्दा स्रोत भएकोले त्यसप्रति भ्रममा नपर्न आग्रह गरेका हुन् । 

उनले यस्ता जनचेतनामूलक कार्यक्रम विद्यालयस्तरसम्म विस्तार गर्न सके अझ प्रभावकारी हुने बताए । 

नेपाल दाना उद्योग संघका अध्यक्ष उमेशचन्द्र सापकोटाले नेपाली समाजमा कार्बोहाइड्रेटको अत्यधिक र प्रोटिनको न्यून उपभोग दीर्घकालीन स्वास्थ्य जोखिमको कारण बन्दै गएको बताए । उनका अनुसार नेपालमा प्रतिव्यक्ति वार्षिक करिब ६५ वटा अण्डा र २० किलोग्राम मासु मात्र खपत हुने गरेको छ, जुन विश्वका अन्य मुलुकको तुलनामा अत्यन्त न्यून हो । विद्यालय तहदेखि नै प्रोटिनको महत्त्व पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता रहेको उनले जोड दिए । 

कार्यक्रममा पोल्ट्री विज्ञ डा. दिनेश गौतमसहित दाना उद्योग तथा पोल्ट्री क्षेत्रका प्रतिनिधिहरूले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए । छलफलका क्रममा दाना उद्योग संघका महासचिव केशवराज थापाले सन् २०१६ यता दानामा एण्टिबायोटिक औषधि प्रयोग नगरिएको दाबी गरे । यदि कुनै दाना उद्योगीले सरकारी नीतिविपरीत एण्टिबायोटिक प्रयोग गरेको पाइए कठोर कारबाही गर्न सम्बन्धित निकायलाई उनले आग्रह गरेका छन् ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले ‘प्रोटिनमाथिको अधिकार’ अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको बताए । यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले गर्भावस्थादेखि नै प्रोटिन आवश्यक पर्ने भएकाले प्रोटिनको स्रोतहरूको गुणस्तर, भण्डारण तथा उपभोक्ता सचेतनामा विशेष ध्यान दिन आग्रह गरिन । 

सन् २०२० देखि नियमित रूपमा मनाइँदै आएको विश्व प्रोटिन दिवस मानव स्वास्थ्य, पोषण सुरक्षा तथा सन्तुलित आहारमा प्रोटिनको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ ।

कान्तिपुर

Link copied successfully