गोकर्ण ब्यारेज, गुहेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनहरा दोभान, यूएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा राखियो 'ट्र्यास ब्यारियर'
What you should know
काठमाडौँ — सहरी विकास मन्त्रालयअर्न्तगत रहेको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न 'ट्र्यास ब्यारियर' जडान गरेको छ ।
गोकर्ण ब्यारेज, गुहेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनहरा दोभान, यूएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा गरी जम्मा ६ स्थानमा जडान गरिएको आयोजना उप-निर्देशक, (सूचना अधिकारी) उद्धव नेपालले बताए । उनी भन्छन्,‘शोभाभगवती छेउमा पनि राख्ने भनेर साइट हेरेका छौँ ।’
सूचना निकालेर प्रतिस्पर्धा गराएर ठेक्का सम्झौता गरेको नेपाल बताउँछन् । ६५ लाखमा ठेक्का सम्झौता भई ट्र्यास ब्यारियर राखेको नेपालको भनाइ छ । ‘नेपालमा यो खालको ब्यारियर राखिएको पहिलोपटक हो । त्यसकारण प्रतिस्पर्धामार्फत कम्पनी छनोट भएर राख्न लागेको हो ।’
ब्यारियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायतका फोहोरलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने नेपाल बताउँछन् । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोलालगायतका नदीमा सहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापन कारण ठूलो मात्रामा तैरिने फोहोर बग्ने गरेको समितिको भनाइ छ ।
ब्यारियरबाट संकलित फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न समेत सकिने समितिले जनाएको छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने जनाइएको छ ।
नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्र्यास ब्यारियरको सतह आफैं तलमाथि हुने ढंगले रबरको कन्भेयर बेल्ट र तैरिने भागसहितको संरचना जडान भएका छन् ।
