उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल फेला

चोरीमा संलग्न २९ जनालाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा वृत्तमा पठाएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए ।

फाल्गुन ७, २०८२

कान्तिपुर संंवाददाता

53 stolen motorcycles found in the Valley

काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रमबीच काठमाडौँ उपत्यका ट्रफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ३१ ओटा मोटरसाइकल र २२ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमवाट आएका सूचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा उपत्यकाका काडाँघारी, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नेपालटार, नयाँ बसपार्क, बालकुमारी, लोकन्थली, बसन्तपुर, कालिमाटी, बौद्ध, गोकर्ण, मुलपानी, सुकेधारा, सुन्दरीजल, थानकोट, सोह्रखुट्टे, कपन, चागललगायतका स्थानबाट ती साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका ५३ वटासहित २९६ ओटा सवारी साधन गत साउनयता ट्राफिक प्रहरीले सवारीधनीलाई जिम्मा लगासकेको छ । चोरीका १६ ओटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न २९ जनालाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाएको अधिकारीले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/०८१ मा ४१७ ओटा र ०८१/०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्न, मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न ट्राफिक प्रमुख अधिकारीले अनुरोध गरेको छ ।  सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन पनि आग्रह गरेको छ । 

कान्तिपुर

Link copied successfully