काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्याे, तर अझै अस्वस्थकर

प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सार्वजनिक बिदाका दिन करिब १० प्रतिशतले यातायातको चाप घट्ने गरेको छ ।

फाल्गुन ६, २०८२

रासस

Kathmandu Valley's air pollution has decreased, but is still unhealthy

What you should know

काठमाडौँ — काठमाडौं उपत्यकामा आज वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ । ग्याल्पो ल्होसारका अवसरमा सार्वजनिक बिदा भएका कारण सवारी साधन आवागमन कम भएसँगै वायू प्रदूषण घटेको हो । 

मंग‌लबार दिउँसो १३:०० बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) १९१ पुगेको थियो भने आज सोही समयमा घटेर ११४ मा झरेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार मङ्गलबार काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर भएको थियो । आज भने काठमाडौं १४औँ स्थानमा झरेको छ । हाल पाकिस्तानको लाहोर १९३ एक्युआईसहित पहिलो र सेनेगलको राजधानी डकार १९२ एक्युआईसहित दोस्रो स्थानमा रहेका छन् ।

वातावरणविद् भुषण तुलाधारका अनुसार वायु प्रदूषण बढ्नुमा यातायात क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । 'सवारीसाधनको धुवाँले प्रत्यक्ष रूपमा प्रदूषण बढाउँछ । गत १ माघदेखि इँटाभट्टा सञ्चालनमा आएका छन्, जसबाट निस्कने धुवाँ र धुलो पनि प्रदूषणको अर्को कारण हो,' उनले भने । 

उनका अनुसार फोहोर जलाउने प्रवृत्ति र डढेलोको मौसम सुरू हुनुले पनि प्रदूषण बढ्ने जोखिम हुन्छ । त्यसैले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारी साधनको धुवाँ परीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको तुलधारको सुझाव छ । 

प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सार्वजनिक बिदाका दिन करिब १० प्रतिशतले यातायातको चाप घट्ने गरेको छ । 'सार्वजनिक यातायातका कारण प्रदूषण बढ्ने कुरा सत्य हो । विस्तारै विद्युतीय बस (ईभी) को संख्या बढिरहेको छ, जसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ,' उनले भने । 

एक्युआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ (हरियो सङ्केत), ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ (पहेँलो सङ्केत) मानिन्छ । १०१ देखि १५० सम्म ‘अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी श्वासप्रश्वास र मुटु रोगीलाई असर गर्न सक्छ । १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

रासस

Link copied successfully