भक्तपुरमा मतदानस्थल र केन्द्रको निरीक्षण

प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले भक्तपुरका दुइटा क्षेत्रभित्र पर्ने चारवटै नगरपालिकाकामध्ये तीन वटा मतदान केन्द्र निरीक्षण गरेको हो ।

माघ २८, २०८२

सुन्दर शिल्पकार

काठमाडौँ — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मतदान स्थल र केन्द्रको निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले भक्तपुरका दुइटा क्षेत्रभित्र पर्ने चारवटै नगरपालिकाकामध्ये तीन वटा मतदान केन्द्र निरीक्षण गरेको हो । 

निरीक्षणका क्रममा भक्तपुरका अधिकांश मतदान केन्द्रहरू खुला ठाउँमा रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । भक्तपुरका भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकाका मतदान केन्द्रहरू पुरानो बस्तीभित्रका चोक मठमन्दिर र पाटीपौवा सत्तल आदिमा मतदान स्थलहरू रहेको प्रजिअ ढकालले बताए । जिल्लाका अन्य मतदान केन्द्रहरू भने शिक्षण संस्था, नगरपालिका, वडा कार्यालयहरूमा तोकिएका छन् । 

खुला ठाउँमा रहेका मतदान केन्द्रहरू सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण रहे पनि विगतमा जस्तै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा रणनीति तयार पारिने प्रमुख जिल्ला अधिकारी ढकालले बताए । उनका अनुसार अहिलेसम्म तीनवटा पालिकाको मतदान स्थलहरू निरीक्षण गरिसकेको र चांगुनारायण नगरपालिकाभित्रका मतदान स्थलहरू निरीक्षण गर्न बाँकी छ  र 

टोलीमा प्रमुख जिल्ला अधिकारीसहित मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालयका प्रमुख र तीनवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । भक्तपुरमा २ लाख ५ हजार ४१० मतदाता रहेका छन् । ७६ मतदानस्थलमा २३३ मतदान केन्द्र तोकिएको छ ।

सुन्दर शिल्पकार

Link copied successfully