श्रमजीवी पत्रकारको तलब सुनिश्चितता हुनुपर्नेमा महासंघको जोड

नेपाल पत्रकार महासंघले माघ ४ गतेदेखि तालाबन्दी र धर्नालगायतका आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

माघ १४, २०८२

कान्तिपुर संवाददाता

Federation stresses on ensuring salaries of working journalists

What you should know

काठमाडौँ — नेपाल पत्रकार महासंघले नेपाल रिपब्लिक मिडिया लिमिटेडको प्रकाशन नागरिक दैनिकमा कार्यरत श्रमजीवी पत्रकारले तोकिएको सेवासुविधा नपाएकोप्रति चिन्ता व्यक्त गर्दै तलब सुनिश्चित गर्न माग गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य नेतृत्वको टोलीले बुधबार नागरिक दैनिकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्दै पत्रकारले पाउनुपर्ने सेवासुविधा तत्काल उपलब्ध गराउन व्यवस्थापनसँग आग्रह गरेको थियो । तालाबन्दीको केही घण्टापछि नेपाल प्रहरी, स्थानीय तह र सम्बन्धित पक्षको उपस्थितिमा ताला खोल्दै व्यवस्थापनसँग संवाद सुरु गरिएको महासंघले जनाएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार गत साउन २२ गते महासंघ र नेपाल रिपब्लिक मिडिया लिमिटेडबीच भएको सम्झौता कार्यान्वयन नभएकाले पूर्वसूचना दिएर तालाबन्दी गर्नुपरेको हो । नेपाल पत्रकार महासंघ नागरिक प्रतिष्ठान शाखाका अध्यक्ष रघुनाथ लामिछानेले लामो समयदेखि तोकिएको सेवासुविधा नपाएपछि पत्रकारहरू आन्दोलनमा उत्रन बाध्य भएको बताए । उनले भने, ‘सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको र कोभिड–१९ को बहानामा करिब ४३ महिनासम्म ५० देखि ७५ प्रतिशतसम्म तलब कटौती गरिएको छ ।’

प्रकाशन गृहकी अध्यक्ष शोभा ज्ञवालीले संस्थामा करिब ३०० जना पत्रकार तथा कर्मचारी कार्यरत रहेको जानकारी दिँदै, केही कर्मचारी आन्दोलनमा सहभागी भए पनि व्यवस्थापन समस्या समाधानमा तयार रहेको बताइन् । मुलुकको समग्र आर्थिक मन्दीका कारण सञ्चारगृह प्रभावित भएको र स्रोत अभावका कारण पारिश्रमिकमा ढिलाइ भएको उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघले माघ ४ गतेदेखि तालाबन्दी र धर्नालगायतका आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने महासंघको अडान छ ।

महासंघले २०८२ माघ १६ गते देशभरका प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसिएट संस्थामार्फत व्यवस्थापनको ध्यानाकर्षण गराउन ‘एसएमएस’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

कान्तिपुर

Link copied successfully