मञ्जुश्री सम्वत् २८६२ 'ता ल्हो' (घोडा वर्ग)को अवसरमा नेपाल तामाङ घेदुङलगायत विभिन्न संघसंस्थाहरुको सहभागितामा तामाङ सांस्कृतिक महोत्सव हुन लागेको हो ।
What you should know
काठमाडौँ — तामाङ समुदायको सोनाम ल्होछार पर्वको अवसरमा आइतबार र सोमबार काठमाडौंको टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव हुने भएको छ ।
मञ्जुश्री सम्वत् २८६२ 'ता ल्हो' (घोडा वर्ग)को अवसरमा नेपाल तामाङ घेदुङलगायत विभिन्न संघसंस्थाहरुको सहभागितामा तामाङ सांस्कृतिक महोत्सव हुन लागेको हो । राष्ट्रिय सोनाम ल्होछार-२८६२ ता ल्होछार मूल समारोह समितिले शनिबार नेपाल तामाङ घेदुङको कार्यालय चुच्चेपाटी, बौद्धमा पत्रकार सम्मेलन आयोजना गरी यही माघ ४ र ५ गते महोत्सवको रुपमा ल्होछार मनाउन लागिएको जाकारी दिएको हो ।
महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरू ताम्बा, बोन्बो तथा लामाको विशेष सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरूको साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित तथा ख्यातीप्राप्त अतिथि कलाकारहरूको प्रस्तुति रहने ल्होछार मूल समारोह समितिका संयोजक मोहन गोले तामाङले जानकारी दिए । उनका अनुसार माघ ५ गते सोमबार भने प्रधानमन्त्री सुशीला कार्कीसमेत कार्यक्रममा सहभागी हुनेछिन् ।
यसैगरी, महोत्सवमा तामाङ समुदायको विशेष खानाको परिकारहरू, तामाङ भेषभूषाहरू, तामाङ जातिसँग सम्बन्धित पुस्तक तथा अन्य तामाङ जातिको पहिचान झल्किने परम्परागत वस्तुहरूलाई विभिन्न स्टलहरूमा बिक्री तथा प्रदर्शनी गरिनेछ ।
महोत्सव तामाङ र गैरतामाङसमेत लाखौं दर्शकहरूले प्रत्यक्ष र विभिन्न माध्यमबाट अवलोकन गर्नुका साथै भरपूर मनोरञ्जन लिने आयोजकले अपेक्षा लिएको छ । महोत्सवका लागि नेपाल तामाङ घेदुङ संयोजक र नेपाल राष्ट्रिय तामाङ घेदुङ सहसंयोजक तथा अन्य सबै तामाङ संस्थाहरु सदस्य रहनेगरी १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समिति मातहत रहनेगरी सांस्कृतिक कार्यक्रम समिति, ताम्बा, लामा, बोन्बो तयारी समिति, स्वयंसेवक तयारी समिति, प्रचारप्रसार समिति, स्वागत, सत्कार समिति, मञ्च व्यवस्थापन समितिहरु गठन गरिएको पनि संयोजक गोलेले जानकारी दिए ।
'ल्हो' को अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । ल्हो बाह्रवटा हुन्छन् । विभिन्न बाह्रवटा पशुपन्छीको नामबाट ल्होको नाम राखिएको हुन्छ । बाह्र ल्होमध्ये प्रत्येक वर्ष एकएक वटा ल्हो फेरिन्छ । यही ल्हो फेरिने दिनलाई तामाङ भाषामा ल्हो पोबा, ल्हो दोबा वा ल्होछार भनिन्छ ।
तामाङहरूले मान्ने ल्होछार (नयाँ वर्ष) चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि सुरु हुन्छ । यो परम्परा कहिले सुरु भएको भन्न नसकिए पनि यसलाई चिनियाँ सभ्यतासँगै आजभन्दा ४७०० वर्ष अगाडि विकास भएको कुरा चिनियाँ ज्योतिषशास्त्रको इतिहासबाट प्रमाणित हुने जानकारीहरु बताउँछन् ।
ल्होछार पर्व नेपालमा मात्र होइन चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्यान्ड, ताईवान, मलेशिया, सिंगापुर आदि देशहरूमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँवर्ष) मनाउने गर्छन् । नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् । यसरी नै विश्वमा छरिएर बसेका तामाङ समुदायले पनि यसै दिन यो पर्व धुमधामसँग मनाउने गर्दछन् ।
सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङहरूले ल्होछार कार्यक्रम विभिन्न गुम्बा, घर-घरमा पूजा गरी घरलगायत सार्वजनिक स्थानहरूमा दर्ज्यू गाड्ने, छो प्रसाद वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रितिभोज र सांस्कृतिक कार्यक्रम गरेर मनाउँछन् ।
