दुर्घटना न्यूनीकरण लक्ष्यसहित उपत्यकामा ट्राफिक सप्ताह मनाइने

अभियानअन्तर्गत ट्राफिक लाइट उद‍्घाटन, चालकसँग चिया कार्यक्रम, चालकको एकदिने आँखा स्वास्थ्य परीक्षणसहित स्वास्थ्य शिविर, सडक सरसफाइ, रुख छाँटकाट, सवारी साधनको यान्त्रिक तथा प्रदूषण परीक्षण पनि समावेश छन् ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Traffic Week to be celebrated in Kathmandu Valley with the goal of reducing accidents

काठमाडौँ — सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह आयोजना गरेको छ । कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी माघ ३ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ट्राफिक सप्ताह मनाइने जानकारी दिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार अभियानको सुरुआत शुक्रबार रक्तदान कार्यक्रमबाट गरिनेछ । अभियानअन्तर्गत पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्ने तरिका सिकाउने, दुईपाङ्ग्रे सवारी (मोटरसाइकल र स्कुटर) लक्षित सचेतना कार्यक्रम, सवारी साधनमा स्टिकर टाँस्ने, विद्यालय तथा कलेजका विद्यार्थीलाई ट्राफिक सचेतना दिने कार्यक्रम सञ्चालन गरिनेछ ।

अभियानअन्तर्गत ट्राफिक लाइट उद‍्घाटन, चालकसँग चिया कार्यक्रम, चालकको एकदिने आँखा स्वास्थ्य परीक्षणसहित स्वास्थ्य शिविर, सडक सरसफाइ, रुख छाँटकाट, सवारी साधनको यान्त्रिक तथा प्रदूषण परीक्षण पनि समावेश छन् ।

यसैगरी ट्राफिक प्रहरी कर्मचारीहरूलाई आचरण, व्यवहार तथा ड्युटीका क्रममा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिइनेछ । उपत्यकामा बढी दुर्घटना हुने स्थानहरूमा सरप्राइज संयुक्त चेकजाँच, मुख्य चोक तथा जक्सनहरूमा दुर्घटनाका कारण र त्यसबाट सिर्जित परिणामबारे माइकिङसहित सांगीतिक कार्यक्रम पनि हुने एसपी सुवेदीले बताए ।

ट्राफिक सप्ताहका कार्यक्रमबारे टिकटक, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार तथा सचेतनामूलक सामग्री पनि प्रकाशन गरिनेछ ।

कान्तिपुर

Link copied successfully