हराएको सवारी फेला परेपछि प्रहरीलाई केक र लड्डु

महिनौं हराएका मोटरसाइकल तथा स्कुटर फिर्ता पाएपछि खुसी भएका धनीहरूले ट्राफिक प्रहरीलाई केक, लड्डु र खादा दिएर सम्मान गरेका छन् ।

पुस ११, २०८२

विवेक पोख्रेल

Police receive cake and laddus after missing vehicle is found

What you should know

काठमाडौँ — काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा मंगलबार बिहानैदेखि मानिसको भिड थियो ।

प्रायः समस्या र गुनासो बोकेर आउने कार्यालयमा आज भने उनीहरू केक, लड्डु र खादा बोकेर पुगेका थिए । कारण- उनीहरूको महिनौंदेखि हराएको मोटरसाइकल र स्कुटर फेला परेका थिए ।

'यातायात कार्यालय नजिकैबाट गत महिना मेरो बाइक हरायो,' गाडी चालकसमेत रहेका गोरखाका दिनेश कोइरालाले भने, ‘बाइक भेटेपछि खुसी भएर लड्डु बोकेर आएको हुँ ।’  

कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । बौद्धबाट हराएको आफ्नो स्कुटर फेला परेपछि लिन आएकी भानुषा भण्डारीले उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्की र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीसँग केक काटेर खुसी साट्न अनुरोध गरिन् । हराएको सवारी फिर्ता पाएपछि खुसी भएका कोही धनीहरूले ट्राफिक प्रहरीलाई केक र लड्डु खुवाउँदै खादा लगाएर सम्मान गरेका थिए ।

Police receive cake and laddus after missing vehicle is found

एसएसपी अधिकारीले भेटिएको सवारी साधन फिर्ता गर्दै सवारी धनीलाई जीपीएस प्रणालीको प्रयोग, हेन्डल लक लगायतका सुरक्षा कार्यमा जोड दिन अनुरोध गरेका थिए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल र स्कुटर खोज्न कार्यालयका सूचना अधिकारी एसपी नरेश सुवेदीको नेतृत्वमा ४ सदस्यीय समिति नै गठन गरेको छ । समितिमा कार्यालयका डीएसपीहरु कृष्ण खड्का, बेदबहादुर पौडेल र जिल्ल प्रहरी परिसर काठमाडौंका चन्द्रबहादुर थापा रहेका छन् । 

कार्यालयका अनुसार भदौदेखि पुससम्म पाँच महिनामा मोटरसाइकल हराएको भन्दै १ हजार ८० वटा निवेदन परेका थिए । सो अवधिमा २ सय १ वटा सवारीसाधन फेला परेकामा १ सय ८१ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकिएको छ । सूचना अधिकारी एसपी सुवेदीका अनुसार १३ वटा मोटरसाइकल र २५ जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ ।

Police receive cake and laddus after missing vehicle is found

कार्यालयको तथ्यांकअनुसार २०८०/०८१ देखि २०८२/०८३ सम्म सवारीसाधन हराएको भन्दै ५ हजार ६ सय ३५ वटा निवेदन परेका छन् । तीमध्ये १ हजार १ सय १ वटा मात्र सवारीसाधन फेला परेका छन् । यसरी हेर्दा हराएको मध्ये करिब २० प्रतिशत सवारीसाधन मात्र प्रहरीले फेला पार्न सकेको देखिन्छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully