महिला पत्रकारलाई संसदीय मामिलामा खोजमूलक रिपोर्टिङ तालिम

पत्रकार महिलाका लागि संसदीय मामिलामा खोजमूलक रिपोर्टिङ शीर्षकको तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना पत्रकार महिला सहभागी थिए ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Investigative reporting training on parliamentary affairs for female journalists

What you should know

काठमाडौँ — क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले महिला पत्रकारको क्षमता अभिवृद्धिको उद्देश्यसहित काठमाडौंमा तीन दिने तालिम सम्पन्न गरेको छ । 

यूएनडीपीको पीएसपी परियोजनाको सहयोगमा सम्पन्न पत्रकार महिलाका लागि संसदीय मामिलामा खोजमूलक रिपोर्टिङ शीर्षकको तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना पत्रकार महिला सहभागी थिए । तालिमको पहिलो दिन त्रिभुवन विश्वविद्यालयका लेक्चरर जगत नेपालले संसद्‍को संरचना, कार्य र प्रक्रियाहरुका बारेमा प्रशिक्षण दिएका थिए  । 

त्यसैगरी अर्का प्रशिक्षक अन्नपूर्ण पोष्टका समाचार सम्पादक नरेन्द्र साउदले संसदीय रिपोर्टिङ र यसका अभ्यासहरु विषयमा प्रस्तुति दिएका थिए । 

दोस्रो दिन पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्‍मा लैंगिक मुद्दा र सञ्चार सम्बन्ध विषयक आफ्नो अनुभव सुनाएकी थिइन् । दोस्रो सत्रमा संघीय संसदअन्तर्गतको राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुँयालले संसद् सचिवालय र यसका मुख्य जिम्मेवारीका विषयमा पत्रकार महिलालाई जानकारी दिएका थिए ।

तालिमको तेस्रो दिन नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले खोज पत्रकारिताको नैतिक मापदण्डका विषयमा प्रशिक्षण दिएका थिए भने दोस्रो सत्रमा खोज पत्रकारिता केन्द्रकी पूर्वअध्यक्ष नम्रता शर्माले संसदीय रिपोर्टिङमा खोज पत्रकारिता विषयमा प्रस्तुति दिएकी थिइन् ।  

तालिममा सहभागीहरुलाई यूएनडीपी पीएसपी परियोजनाका नेसनल प्रोजेक्ट म्यानेजर दिला दत्त पन्त, वरिष्ठ पत्रकार नम्रता शर्मा र डब्लुडब्लुजेकी पूर्व अध्यक्ष एवं सल्लाहकार शुभेच्छा बिन्दुले प्रमाणपत्र वितरण गरेका थिए । 

कार्यक्रममा यूएनडीपी पीएसपी परियोजनाका नेसनल प्रोजेक्ट म्यानेजर पन्तले संसद्‍को रिपोर्टिङका सन्दर्भमा बोल्दै पत्रकार महिलालाई अब रिपोर्टरभन्दा पनि बढी विज्ञ हुने यात्रामा लाग्न सुझावसमेत दिएका थिए । 

संसदीय मामिलामा खोज पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने, सत्तालाई जवाफदेही र जनतालाई सही सूचना दिने काम गर्ने हुँदा संसदका भित्री प्रक्रिया, निर्णय र प्रभावलाई जनतासामू ल्याउन तालिम आयोजना गरिएको डब्लुडब्लुजेकी अध्यक्ष रामकला खड्काले बताइन् । भ्रष्टाचार र आर्थिक अनियमितता, कानुन निर्माणमा स्वार्थको टकराव, संसदीय समितिको कामकारबाही, नीति निर्णयको प्रभावका विषयमा खोजी गरेर पत्रकार महिलाले खोजी रिपोर्टिङ गर्न सक्ने खड्काले जनाइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully