पहिले ढुंगा र खाल्टाखुल्टीले भरिएको चौर अहिले बालमैत्री पार्कमा परिणत गरिएको हो ।
What you should know
काठमाडौँ — नक्सालका १२ वर्षीय सुगम सापकोटा अघिल्लो वर्ष नारायण चौरमा खेल्दै गर्दा लडे । लडेर मुखबाट रगत नै बगेपछि उनी चौर त आउँथे, तर पहिलेझैँ खेल्न डराउँथे ।
११ वर्षीय औसल साउतको अनुभव पनि उस्तै छ । खेल्ने क्रममा हातमा चोट लागेपछि उनी चौर आउनै छाडेका थिए । बैतडी घर भएका साउतको परिवार अहिले नक्सालमै बस्दै आएको छ ।
शनिबार नारायण चौरमा भेटिएका सुगम र औसलजस्तै सयौँ बालबालिका चौरको बदलिएको स्वरूप देखेर दंग परेका थिए । पहिले ढुंगा र खाल्टाखुल्टीले भरिएको चौर अहिले बालमैत्री पार्कमा परिणत भएको छ ।
‘पहिले खेल्न गाह्रो हुने चौरमा कति राम्रो पार्क बनेछ । हामीले खेल्ने पिङदेखि सबै कुरा छन्,’ औसलले खुसी हुँदै सुनाए, ‘अब त साथीहरुसँग सधैं खेल्न आउने हो ।’
महाराज द रोयल क्यासिनोले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराएको रकमबाट नारायण चौरमा ‘खुसी चिल्ड्रेन्स पार्क’ निर्माण गरिएको हो । गौरीधाराबाट १० वर्षका नातिलाई लिएर पार्क आएकी प्रबिता श्रेष्ठले पनि खुसी व्यक्त गरिन् । ‘हामी पहिले बिहान र साँझ हिँडडुल गर्न मात्रै आउँथ्यौँ । अब त साना नातिनातिनालाई पनि ल्याउन मिल्ने भयो,’ उनले भनिन्, ‘बालउद्यानका सामग्री जडान भएपछि यस क्षेत्रका बालबालिकामा उत्साह थपिएको छ ।’
महाराज द रोयल क्यासिनो, काठमाडौं महानगरपालिका–१ र गाथा कम्पनीको आर्किटेक सहितको सहकार्यमा निर्माण भएको यो परियोजनाको शनिबार एक कायक्रमकाबीच पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले उद्घाटन गरेका थिए ।
थापाले यस कार्यले समुदायमा निकै ठूलो महत्त्व राख्ने बताए । उद्घाटन अघि महाराज द रोयल क्यासिनोका प्रशासकीय प्रमुख शुभान्वित गुरुङले वडा कार्यालयलाई पार्कको चाबी हस्तान्तरण गरेका थिए । त्यस क्रममा गुरुङले काठमाडौं जस्तो तीव्र रूपमा सहरीकरण भइरहेको सहरमा बालबालिकाका लागि सुरक्षित खेलकुद र मनोरञ्जन स्थलको अभाव रहेको बताउँदै नयाँ पार्कले बालबालिकालाई बाहिर खेल्न, शारीरिक रूपमा सक्रिय हुन र एक–अर्कासँग घुलमिल हुन प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।
क्यासिनोले २५ लाख रुपैयाँ खर्च गरेर पार्कमा नयाँ संरचना निर्माण गरेको हो । पार्कको डिजाइन गरेको आर्किटेक्चर फर्म ‘गाथा’ की संस्थापक शृंखला खतिवडाका अनुसार यो पार्क काठमाडौंमै बालबालिकाका लागि समुदायस्तरमा निर्माण गरिएको नमुनायोग्य पार्क हो । तीन महिना लगाएर निर्माण सम्पन्न गरिएको पार्कमा साना–साना पक्षमा ध्यान दिँदै बालमैत्री बनाइएको खतिवडाले बताइन् ।‘बालबालिकाको पार्क भएकाले यहाँ रबर सामग्रीको बढी प्रयोग गरिएको छ । खिया नलाग्ने र सुरक्षित सामग्री प्रयोग गरेका छौँ,’ उनले भनिन्, ‘पार्कभित्र बच्चाको सुरक्षासँगै उनीहरूको जिज्ञासा र खुसीलाई पनि विशेष ध्यानमा राखिएको छ ।’
नारायण चौर पार्कलाई ‘नन्दकेशरी बगैंचा’ भनेर पनि चिनिन्छ । संरक्षणको अभावमा कुनै समय यहाँ फोहोर फाल्ने स्थान समेत बनेको थियो । तर स्थानीयवासीको सक्रियतापछि यो क्षेत्र अहिले व्यवस्थित पार्कका रूपमा विकास हुँदै गएको छ । यो पार्क काठमाडौँ महानगरपालिका वडा नम्बर १ अन्तर्गत पर्दछ ।
