विदेशीको सहयोग बिनै भक्तपुरका अधिकांश सम्पदा पुनर्निर्माण गरिरहेका छौं : मेयर प्रजापति

नगरपालिकाले स्थानीयको श्रमदान र चन्दा संकलनबाट नै भक्तपुरका सम्पदाहरू पुनर्निर्माण र जीर्णोद्धार गरिँदै आएको नगर प्रमुख सुनिल प्रजापतिले बताए ।

पुस २, २०८२

सुन्दर शिल्पकार

भक्तपुर — भक्तपुर नगरपालिका स्थापना भएको आज ७६ वर्ष पूरा भएको छ । ७६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर भित्रको सम्पदा संरक्षणलाई विदेशी सहयोग बिना नै पुनर्निर्माण गरिरहेको बताएका छन् ।

नगरपालिकाले स्थानीयको श्रमदान र चन्दा संकलनबाट नै भक्तपुरका सम्पदाहरू पुनर्निर्माण र जीर्णोद्धार गरिँदै आएको नगर प्रमुख प्रजापतिले बताए । भक्तपुर नगर क्षेत्रभित्र भूकम्पबाट क्षतिग्रस्त अधिकांश सम्पदाहरू पुनर्निर्माण भइसेकेको भन्दै उनले हालसम्म १ सय ६९ वटा सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेको बताए । यस्तै, एक दर्जन सम्पदा पुनर्निर्माण गर्न बाँकी रहेको प्रमुख प्रजापतिको भनाइ थियो ।

नगरपालिकाले यसबाहेक शिक्षा,स्वास्थ्य, पर्यटन, सरसफाइ, रोजगारमूलक तालिम तथा विभिन्न मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको उनले बताए । नगरपालिकाले स्थापना दिवसको अवसरमा योमरी उत्सवमा विजयी भएका प्रतियोगितहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो । योमरी प्रतियोगितामा छिकोन समूह प्रथम, विश्वकर्मा भैल प्याखं खल दोस्रो, ख्वप्रिंग ईं एकेडेमी तृतीय र भादगाउँ दिदी बहिनी समूह तथा सुरक्षित बचत साकोस सान्त्वना भएको थियो ।

सुन्दर शिल्पकार

Link copied successfully