जेन–जी र सरकारबीच भएको सम्झौताको सांकेतिक विरोध प्रदर्शन भइरहेका बेला फोटो खिच्नेक्रममा उनीमाथि प्रहरीले दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको हो ।
काठमाडौँ — फोटो पत्रकार बर्षा शाहलाई प्रहरीले दुर्व्यवहार गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारअगाडि तस्बिर खिच्ने क्रममा उनीमाथि प्रहरीले दुर्व्यवहार गरेको हो ।
जेन–जी र सरकारबीच भएको सम्झौताको सांकेतिक विरोध प्रदर्शन भइरहेका बेला फोटो खिच्नेक्रममा उनीमाथि प्रहरीले दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको हो । पत्रकार शाहका अनुसार बालुवाटार गेटअगाडि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिँदै गरेको दृश्य तस्बिरमा कैद गर्दा उनलाई प्रहरीले फोटो डिलिट गर्न दबाब दिएका थिए । आफू पत्रकार भएको र सार्वजनिक स्थलमा तस्बिर खिच्ने अधिकार रहेको बताउँदा पनि प्रहरीले नसुनेर उनलाई नियन्त्रणमा लिएको शाहले बताइन् ।
‘तस्बिर खिचेपछि एकजना वान स्टार र एकजना सिभिल ड्रेसमा रहेका सुरक्षाकर्मी आएर फोटो डिलिट गर्न भने,’ शाहले भनिन्, ‘मैले अधिकार छैन भनेपछि हात समातेर लतार्दै लगे, मोबाइल पनि खोसे ।’
काठमाडौँ प्रहरी प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले भनि उनलाई पक्राउ नगरेको बताए । उनले भने, 'प्रदर्शनकारी जस्तो ठानेर उहाँलाई पनि होल्ड गरेको रहेछ । पछि उहाँ पत्रकार भन्ने थाहा पाएपछि छाडेका हौं । पक्राउ गरेको होइन ।'
तर वर्षाले भने आफूलाई पक्राउ गरेर प्रधानमन्त्री कार्यालय अगाडिको प्रहरी बिटमा राखिएको बताइन् । करिब साँझ साढे पाँच बजेतिर नियन्त्रणमा परेकी शाहलाई साढे आठ बजेतिर छोडिएको थियो ।
