सेन्ट जेभियर्सको ४०औैं मिडिया टकमा जेन–जी आन्दोलनमाथि अन्तरक्रिया

कार्यक्रमका वक्ताहरूले हालैको जेन–जी आन्दोलनले ल्याएको परिवर्तनबारे बोलेका थिए ।

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

Interaction on the Gen-G movement at St. Xavier's 40th Media Talk

काठमाडौँ — संसद् र सुशासन रिपोर्टिङका विज्ञ वरिष्ठ पत्रकार हरिबहादुर थापाले हालैको जेन–जीको अगुवाइमा भएको आन्दोलनले शक्तिशाली नेताहरुले राज्य दोहन गर्नुका साथै राज्यका संस्थाहरुलाई व्यक्तिगत स्वार्थका लागि कसरी दुरुपयोग गरिरहेका रहेछन् भन्ने कुरा खुलासा गरेको बताएका छन् ।

काठमाडौंको सेन्ट जेभियर्स कलेजमा आयोजित ४० औं संस्करणको मिडया टक सिरिजमा थापाले उक्त कुरा बताएका हुन् ।

यसपटकको सिरिज भदौ २३ र २४ गतेको जेन–जी पुस्ताको आन्दोलनका विषयमा केन्द्रित थियो। त्यही क्रममा पत्रकार थापाले बोल्दै भने, ‘भ्रष्टाचार विरुद्धको लडाइँलाई आजको युवाले गहिरोसँग बुझेर यसैमा जुध्नुपर्छ।’

कार्यक्रममा भ्रष्टाचारविरोधी अभियानी तनुजा पाण्डेले नेताहरूको देवत्वकरण गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने र नागरिकहरूले आफ्ना निर्वाचित प्रतिनिधिलाई उत्तरदायी बनाउन जिम्मेवारी लिनुपर्ने बताइन्।

कार्यक्रमका वक्ताहरूले हालैको जेन–जी आन्दोलनले ल्याएको परिवर्तनबारे बोलेका थिए । भ्रष्टाचारले कसरी आम नागरिकको अवसर सीमित बनाइरहेको छ र सुशासनलाई कमजोर पारिरहेको छ भन्ने विषयलाई कार्यक्रममा उजागर गरिएको थियो।

कलेजको पत्रकारिता संकाय प्रमुख तथा मिडिया टक सिरिजका संयोजक चुनबहादुर गुरूङले सत्ता र पैसाको आडमा देश चल्ने गरेको बताए । उनले भने, 'सत्ता र पैसामा बसेका मानिसहरूकै हातमा सबै शक्ति हुन्छ । उनीहरूले धन जसरी कमाएको भए पनि समुदायमा उनीहरूलाई सम्मान मिल्छ र ठूलो प्रभाव पनि हुन्छ । यसले सुशासन र जवाफदेहिताको संस्कृतिलाई गम्भीर रूपमा क्षति पुर्‍याउँछ ।'

उक्त कार्यक्रम कलेजको पत्रकारिता संकायले आयोजना गरेको थियो।

कान्तिपुर

Link copied successfully