'फोटो नेपाल' मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको क्यानभास

यस संस्करणमा वरिष्ठ कलाकारदेखि उदाउँदा प्रतिभासम्म ४५ भन्दा बढी नेपाली कलाकारहरूको सहभागितासँगै रूस, अमेरिका, बेलायत, जापान, भारत, बंगलादेश र घानाका अन्तर्राष्ट्रिय कलाकारहरू समेत सहभागी हुनेछन्।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — यही मंसिर १२ देखि १४ गतेसम्म 'फोटो-नेपाल' प्रदर्शनी हुने भएको छ । नेपाल पर्यटन बोर्डले सुष्मा आर्ट ग्यालरीको सहकार्यमा भृकुटीमण्डपस्थित बोर्ड परिसरमा 'फोटो नेपाल' मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रदर्शनी गर्न लागेको हो ।

वर्षौंदेखि फोटो नेपालमा नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर र मानवीय पहिचानलाई उजागर गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा विकसित हुँदै आएको छ । जसले नेपालका कलाकार तथा तिनका कृतिहरूलाई एकै ठाउँ ल्याई नेपालको विविधता र सिर्जनशीलता विश्व समक्ष प्रस्तुत गर्दै आएको छ।

यस संस्करणमा वरिष्ठ कलाकारदेखि उदाउँदा प्रतिभासम्म ४५ भन्दा बढी नेपाली कलाकारहरूको सहभागितासँगै रूस, अमेरिका, बेलायत, जापान, भारत, बंगलादेश र घानाका अन्तर्राष्ट्रिय कलाकारहरू समेत सहभागी हुनेछन्। प्रस्तुत कलाकृतिहरू नेपाली संस्कृति, भू–दृश्य, नगरीय परिवर्तन, अध्यात्म तथा आधुनिक अभिव्यक्तिका विविध कथाहरू समेट्नेछन् ।

कला–आधारित पर्यटन प्रवर्द्धनप्रति बोर्डको प्रतिबद्धता व्यक्त गर्दै नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा भन्छन्, 'फोटो नेपाल कला, संस्कृति र पर्यटनलाई जोड्ने शक्तिशाली सिर्जनात्मक अभियान बनेको छ। यो अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीले नेपाली कलाकारहरूको अद्भुत कला–गहिराइ प्रस्तुत गर्नेछ ।' प्रदर्शनी बिहान १०:३० देखि दिउँसो ४:३० बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully