जेन-जी आन्दोलनमा काठमाडौँमा सडक दुर्घटना बढ्यो, अपराध घट्यो

जेन-जी आन्दोलनपछि काठमाडौँका सडकमा ४ सय ५६ सवारी साधन दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने ६ सय ४७ जना घाइते भएका छन्।

मंसिर ८, २०८२

विवेक पोख्रेल

Road accidents increase in Kathmandu, crime decreases during Gen-G movement

What you should know

काठमाडौँ — जेन–जी प्रदर्शनपछि काठमाडौंमा सडक दुर्घटना बढेको छ । जेन–जी प्रदर्शनको क्रममा मुख्य निशानामा प्रहरी र प्रहरी कार्यालयमा नै क्षति पुगेपछि जाँचको काम नहुँदा सडक दुर्घटना बढेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए । यद्यपि, यो अवधिमा अपराधका घटना भने कम भएको छ । 

‘सुरुका दिनमा प्रहरी कार्यालय जले, पोसाक र सामग्रीसमेत जल्दा प्रहरी सडकमा आउन सकेनन् । त्यसैले दुर्घटनाको दर बढेको देखिएको छ,’ एसएसपी थापाले भने । 

जेन–जी प्रदर्शनपछि ७७ दिनको अवधिमा काठमाडौंका सडकमा ४ सय ५६ सवारी साधन एकआपसमा ठक्कर खाँदा १२ जनाको मृत्यु भएको छ भने ६ सय ४७ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार यस घटनाका २ सय ५ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरे पनि ६९ जना फरार छन् । चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, सवारी साधनको यान्त्रिक गडबडी र गलत ओभरटेकका कारण यस्ता दुर्घटना हुने गरेका छन् । यस्तो दुर्घटनाको अर्को कारण जेन–जी आन्दोलनका क्रममा प्रहरीको उपकरणमा क्षति पुग्नु पनि हो । 

‘प्रदर्शनपछि हामी प्रहरी सुरक्षामा केन्द्रित भयौं । सडक प्रयोग कर्ताले पनि निगरानी हुँदैन भन्ने धारणा राख्नुभयो । प्रहरी सडकमा कम पनि थियो । सीसीटीभी पनि थिएन । उजुरी गर्न प्रहरी र ट्राफिकको हटलाइन पनि थिएन,’  एसपी भट्टराईले भने,‘ यही कारण १० प्रतिशत सम्म सडक दुर्घटना काठमाडौंमा बढेको देखिन्छ । ’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार ब्रेथलाइजर २ सय ५१, लिडार गन १७, बडिवर्न क्यामरा २ सय ९, गोप्रो क्यामरा २९, ट्राफिक बत्ती ६३ र ट्राफिक आइल्यान्ड ५३ वटामा क्षति पुगेको थियो । प्रदर्शनकै क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयभित्र रहेका झन्डै ६ सय सवारी साधनहरुसमेत जलेका थिए ।  

ट्राफिक प्रहरीको तथ्यांकमा असोज र कात्तिक महिनामा मात्र काठमाडौंमा १ हजार २२ सडक दुर्घटना भएका छन् । जहाँ ४२ जनाको मृत्यु र ५६ जना गम्भीर घाइते भएका थिए । एसपी सुवेदीका अनुसार यो अवधिमा २२ हजार ९ सय १६ वटा सवारी साधन कारबाहीमा परेका थिए । उनका अनुसार अहिले काठमाडौं उपत्यकाका ३ सय २६ ठाउँमा ट्राफिक प्रहरीले नियमित निगरानी गरिरहेको छ । ‘सुरुका दुई हप्ता हामीलाई सेवा सुरु गर्न निकै समस्या भयो । विस्तारै सेवा विस्तार गर्दै अहिले पुरानै लयमा फर्किएका छौं,’ उनले भने ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलनमा जेन–जी प्रदर्शनपछि विष सेवन, ओभरडोज औषधी सेवनका कारण ८ जनाको मृत्यु भएको बताएको छ । यो अवधिमा ५७ जनाले आत्महत्या गरेका छन् भने ६ शिशु मृत भेटिएका छन् । यस्तै, एसपी भट्टराईका अनुसार यो समयमा बेवारिसे मृत्यु, घाइते र बिरामीहरु ४२ जना भेटिएकोमा २० मृत्यु भएको छ । प्रहरी तथ्यांकमा भवितव्य मृत्युबाट ४१ जनाले ज्यान गुमाएका छन् भने ७३ जना घाइते भएका छन् । कर्तव्य ज्यान २, फुटकर ज्यान ८५ र करेन्ट लागेर ८ जनाको मृत्यु भएको छ । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully