कुमारी घरबाट चोरिएको तोरण बेलायतको लन्डनस्थित बाराकाट ग्यालरीमा भेटिएको थियो । उक्त तोरण नेपाल फिर्ता गरी दुई वर्षदेखि छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको थियो ।
What you should know
काठमाडौँ — वि.सं २०५६ सालमा बसन्तपुरस्थित कुमारी घर(कुमारी छें )बाट चोरी भएको तोरण बेलायतबाट फिर्ता ल्याइ २६ वर्षपछि कुमारी घरमै राखिएको छ । नेपालबाट चोरिएको उक्त तोरण बेलायतको लन्डनस्थित बाराकाट ग्यालरी (संग्रहालय) मा भेटिएको थियो । त्यही तोरण नेपाल फर्काएर दुई वर्षयता काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको थियो ।
युवा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ तोरण पुन:स्थापनाले समुदायलाई निकै खुसी दिएको बताए । ‘यो निकै गौरवको पल हो । हराएको यति धेरै वर्षपछि भेटेर पुन: कुमारी छेंमा पुन:स्थापना गर्न पाउनु हामी सबैको लागि खुसीको कुरा हो,’ उनले भने,‘यसले हामीलाई हाम्रा हराएका अन्य सम्पदाहरु फिर्ता ल्याएर पुन:स्थापना गर्न पाउँछौँ भन्ने हौसलासमेत दिएको छ ।’
राष्ट्रिय संग्रहालयमा राखिएको उक्त तोरण विभिन्न प्रक्रिया पूरा गरी पुन:स्थापना गर्न सफल भएको श्रेष्ठले बताए । ‘संग्रहालयबाट तोरण ल्याउन विभिन्न चरणको छलफल गर्यौं,’ उनले भने,‘कुमारी घर, गुठी संस्था, वडा, सुरक्षा निकाय र अन्तिममा काठमाडौं महानगरपालिका उप–प्रमुखसँग सबै मिलेर छलफल भइसकेपछि नै हामीले एक महिनामा तोरण कुमारी घर ल्याउन (पुन:स्थापना गर्न) सफल भएका हौँ ।’ तोरण पुन:स्थापनाको लागि विभिन्न निकायको महत्त्वपूर्ण योगदान रहेकोसमेत उनले बताए । उनले विभिन्न देशबाट ल्याइएका सम्पदाहरुलाई पुन:स्थापना गर्नुपर्ने बताए । उनले भने, ‘विभिन्न देशबाट नेपाल ल्याएर हामीले संग्रहालयमा राख्नु मात्र उद्देश्य होइन । यसलाई सुरक्षा निकायसँग समन्वयन गरेर, पुन:स्थापना गर्न आवश्यक रहेको छ ।’
उनी सम्पदालाई सबै मिलेर बचाउनुपर्ने बताउँछन् ।‘हामीले हाम्रा पुर्खाले छोडेको शिला लेख, हाम्रा देउतालाई पिँजडामा, जेलभित्र राखेर थुनेको जस्तो गर्छौं,’ उनले भने,‘त्यस्तो नगरी यसलाई सम्पदामैत्री बनाउने, भएका सम्पदाको सुरक्षा गर्न र विदेशबाट फिर्ता आएका सम्पदाको पुन:स्थापना गर्न सकेमा यो निकै राम्रो हुन्थ्यो आउँदो पुस्तालाई हाम्रो सम्पदा हस्तान्तरण गर्नु नै हाम्रो उद्देश्य हो।’
यसरी नै काठमाडौं–२३ का वडा अध्यक्ष मचाराजा महर्जन विभिन्न निकायको पहलमा सफल भएको तोरण पुन:स्थापनाले समुदायलाई निकै खुसी दिएको बताए । उनले भने,‘हाम्रो पुर्खाले बनाएको संरचना साथै कुमारी देवी भवनको महत्त्वपूर्ण अंग हामीले फिर्ता पाएर सोही ठाउँमा स्थापना गर्न पाउँदा निकै नै सन्तुष्ट मिलेको छ ।’ महर्जनले यस कार्यमा महानगर उपप्रमुख साथै सम्पदाप्रेमीले निकै साथ र सहयोग गरेकोसमेत बताए।
काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा सम्पूर्ण निकायको निर्णय बमोजिम नै शुक्रबार उक्त तोरणलाई कुमारी घरमा पुन:स्थापना गर्ने निर्णय गरिएको थियो । त्यसरी नै बाजागाजा, पूजाविधिसहित संग्रहालयबाट तोरणलाई डोलीमा राखेर कुमारी घर पुर्याइएको थियो ।
नेपालबाट चोरी भएको तोरण फिर्ता आएको केही वर्ष भएपनि संग्रहालयमै थन्किएको भन्दै विभिन्न निकायले गुनासो गरेपछि उपप्रमुख डंगोलको संयोजनमा तोरणलाई कुमारी घरमा नै पुन:स्थापना गर्ने निर्णय गरिएको थियो । महानगरले ऐतिहासिक महत्त्व बोकेका सम्पदाहरुलाई सबै मिलेर संरक्षण गर्नुपर्ने बताएको छ । साथै विभिन्न देशमा कानुनी प्रक्रियामा रहेका सम्पदाहरुलाई सरोकारवाला निकायले सहयोग गर्नुपर्ने साथै फिर्ता ल्याएपछि पुन: हराउन सक्ने हुँदा चनाखोसमेत हुनुपर्ने महानगरले जनाएको छ ।
हराएको तोरण कसरी बेलायतबाट नेपाल ल्याइयो ?
नेपालका सम्पदाहरूको कुनै समयका फोटोहरु हुन्छन् । कुनै प्रकाशित पनि भएका फोटोमा अनुसन्धानमा देखिएपछि तोरणलाई बेलायतबाट फिर्ता ल्याउने प्रारम्भ भएको अधिवक्ता तथा नेपाल सम्पदा पुन:स्थापना अभियानका सचिव सञ्जय अधिकारीले बताए । ‘कुनै पनि वस्तुको स्रोत भेटिएन र गैर कानुनी रुपमा लगिएको देखेर नै बाराकाट संग्रहालयले कूटनीतिक साथै स्वेच्छाले नेपाललाई फर्काएको हो,’ उनले भने,‘बेलायतमा रहेको नेपाली राजदूतावासले पुरातत्व विभागसँग समन्वय गरेर नेपाल आएको हो ।’
नेपालबाट हराएका सम्पदा फिर्ता ल्याउन के–के प्रक्रिया अपनाउनुपर्छ ?
अवैध तरिकाले नेपालका सम्पदाहरूलाई अन्य देशमा लगेको थाहा पाएको खण्डमा त्यहाँ भएको नेपाली दूतावाससँग सोही देशको प्रक्रिया पूरा गरी, कानुनी प्रक्रियाले नै नेपाल ल्याउने गरेको अधिकारी बताए । अधिकारी अहिलेको समयमा आफूले यस्ता मुद्दा हेरिरहेको जानकारी दिए । ‘मलगायत मेरो टिमले करिब २ सय ३५ वटा सम्पदाहरुलाई विदेशबाट नेपाल फिर्ता ल्याउने काममा कानुनी प्रक्रियामा छौँ,’ उनले भने, 'त्यसमा पनि कुनै कानुनी प्रक्रियामा (मुद्दा चल्दै) गरेका छन्, कुनै अनुसन्धानका प्रक्रियामा छन् ।'
