ठेक्का अवधि सकिन २ महिना बाँकी, ३८ प्रतिशत मात्रै काम सम्पन्न

तीन वर्षमै काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि २ महिना मात्र बाँकी रहँदा अझै ६२ प्रतिशत काम अपूर्ण छ।

मंसिर ४, २०८२

सुन्दर शिल्पकार

Only 38 percent of the work has been completed, with 2 months left to complete the contract period.

काठमाडौँ — सुर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तारको काम अत्यन्त सुस्त गतिमा अघि बढिरहेको छ। २०७९ पुस २४ गते सुरु गरिएको ७.५ किलोमिटर लामो सुर्यविनायक–साँगा सडक सुधार तथा विस्तार परियोजनामा ३४ महिनासम्म पनि जम्मा ३८ प्रतिशत काम मात्र सम्पन्न भएको छ।

यस सडक खण्डको निर्माणकार्य आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले पाएको थियो। निर्माण शुरु हुँदा तीन वर्षमै काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि २ महिना मात्र बाँकी रहँदा अझै ६२ प्रतिशत काम अपूर्ण छ।

आयोजनाका इन्जिनियर विवेक पाण्डेले तोकिएको समयमै काम नसकिने बताए । उनले विशेषगरी सुर्यविनायक–साँगा खण्डमा पर्ने घर–टहरा हटाउन मुआव्जा विवाद देखिएपछि काम प्रभावित भएको बताए।

सडक विस्तार परियोजनाको ठेक्का लागत ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ रहेको छ। ठेक्का अवधि थप्ने विषयमा हाल ठेकेदार र आयोजनाबीच छलफल भइरहेको इन्जिनियर पाण्डेले बताए। उनका अनुसार समय थप भएमा असार मसान्तसम्म सुर्यविनायक–साँगा खण्डमा कालोपत्रे काम सकिने योजना छ।

सडक विस्तार समयकै नसकिदा दैनिक यात्रुहरूले ठूलो सास्ती व्यहोर्नु परेको छ। यद्यपि यही सडकको अर्को खण्ड साँगा–धुलिखेल (८.३ किमि) मा भने अहिले तीव्र गतिमा कालोपत्रेको काम चलिरहेको छ । 

सुन्दर

Link copied successfully