काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौँ — काठमाडौँमा लागुऔषधसहित पक्राउ गरेका व्यक्तिको घरबाट दुई थान रिभल्वर र गोली फेला परेको छ ।
काठमाडौं महानगरपालिका–१२ टेकु ह्युमतबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका हुन् । प्रहरीले ९२० मिलिग्राम, नगद ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट रिभल्वर दुई थान र गोली पनि बरामद गरेको छ ।
१९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाहीको घरपछाडि लुकाइराखेको रिभल्वर एक थान तथा गोली दुई राउन्ड भेटिएको हो ।यस्तै सुजनको घरमा लुकाइराखेको रिभल्वर एक थान तथा गोली चार राउन्ड फेला पारेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
'हाम्रो टोली र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको थियो, थप अनुसन्धानका क्रममा उनीहरुको घरबाट शनिबार रिभल्वर दुई थान र गोली बरामद गरिएको छ,' उनले भने ।
