अटेर गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुने महानगरले जनाएको छ ।
काठमाडौँ — काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु तथा फोहर बाल्न रोक लगाएको छ ।
चिसो बढेसँगै फोहोर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै यस्ता बस्तु बाल्न रोक लगाएको हो ।
जाडो महिनामा उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढ्ने गरेको छ । प्रदूषण बढ्नमा यसरी खुला रुपमा बालिने वस्तुको महत्वपूर्ण हिस्सा छ । ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो विभागकी प्रमुख सरिता राईले भनिन् ।
वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दम खोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरुलाई बढी असर गर्छ । ती व्यक्तिहरुसँगै सहरबासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रुपमा बस्तु बालेर धुँवा उत्सर्जन घटाउनुपर्छ ।
‘महानगरपालिकाले जारी गरेको प्रतिबन्धसम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ,’ राईले भनिन् । यस व्यवस्थाबमोजिम प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ ।
