अल्फा प्लस भेन्चर्स लिमिटेडले आठ वटा कम्प्युटर, चार वटा प्रिन्टर र एउटा ल्यापटप हस्तान्तरण गरेको हो ।
काठमाडौँ — भदौ २४ गतेको प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका प्रहरी कार्यालयहरूको सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले अल्फा प्लस भेन्चर्स लिमिटेडले काठमाडौँ प्रहरी परिसरलाई विद्युतीय सामग्री र उपकरण हस्तान्तरण गरेको छ।
कम्पनीले एक कार्यक्रममार्फत ८ वटा कम्प्युटर, ४ वटा प्रिन्टर र १ वटा ल्यापटप हस्तान्तरण गरेको अल्फा प्लस भेन्चर्स लिमिटेडका सिइओ रविन श्रेष्ठले जानकारी दिए।
लगानी तथा इक्विटी क्षेत्रमा क्रियाशील उक्त कम्पनीले सामाजिक उत्तरदायित्वको वहन गर्दै प्रहरी सेवालाई सहज बनाउन सहयोग गरेको हो।
कम्पनीका अध्यक्ष प्रकाश लम्सालका अनुसार भदौ २४ गतेको प्रदर्शनका क्रममा उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा आगलागी र तोडफोड हुँदा कम्युटरसहितका उपकरणमा क्षति पुगेकाले प्रहरीको काम कारबाही सहज होस् भन्ने उद्देश्यले यी सामाग्री सहयोग गरेको बताए ।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश थापाले प्रहरीलाई आवश्यक सामग्री सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।
गत भदौ २४ गतेको प्रदर्शनका क्रममा देशभर करिब तीन सय प्रहरी ब्यारेक तथा कार्यालयमा तोडफोड र आगजनी भएको थियो।
