विगतमा सरकारले गरेको सहमति पूरा नभएको भन्दै बिहीबारदेखि उपत्यकाको फोहोर विसर्जन र ढुवानीमा स्थानीयवासीले अवरोध गरेका हुन्। फोहोर उठ्न छोडेपछि काठमाडौँ उपत्यकामा निकालिएको फोहोर सडकमै कुहिन थालेको छ।
काठमाडौँ — नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध गरेका छन्। यसबारे समाधान खोज्न सहरी विकास मन्त्रालयमा बसेको बैठक पनि निष्कर्षविहीन बनेको छ। फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौँ उपत्यकामा घरबाट निस्किएको फोहोर सडकमै कुहिन थालेको छ।
स्थानीयले अवरोध गरेपछि सिसडोलतर्फ फोहोर बोकेर गएका गाडी रोकिएका छन्। यसअघि ०७९ मा सरकार र स्थानीयवासीबीच भएको १८बुँदे सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले आक्रोश पोख्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन्।
यसबारे सहमति खोज्न स्थानीयवासीसँग सहरी विकास मन्त्रालयले छलफल कार्यक्रम गरेको थियो। शुक्रवार दिउँसो २ बजे भनिए पनि साँझ मात्र सुरु भएको बैठकमा मन्त्रालयका सचिव, काठमाडौँका प्रजिअ, काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत, धुनीबेँसी नगरपालिकाका प्रमुख, ककनी गाउँपालिकाका प्रमुख, स्थानीय वडाध्यक्ष र स्थानीयवासी सहभागी थिए।
स्थानीयले यस विषयमा मन्त्रीलाई भेट्न खोजे पनि सहरी विकास मन्त्री कुलमान घिसिङलाई भेट्न नपाएको भन्दै गुनासो गरेका छन्। यता मन्त्रालयले भने यस विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग सम्पर्क गर्न खोजे पनि समन्वय नभएको एक अधिकृतले बताए ।
यसअघि भएको १८ वटा बुँदाको सहमति महानगरपालिका र मन्त्रालयले कार्यान्वयन नगरेको भन्दै आफूहरू आन्दोलनमा उत्रनुपरेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए। स्थानीयले बिहीबारदेखि उपत्यकाको फोहोर विसर्जन र ढुवानीमा अवरोध गरेपछि काठमाडौँको फोहोर संकलन हुन सकेको छैन ।
‘रातिको समयमा मात्र फोहोर बोक्ने र सडकको छेउमा बत्ती हाल्ने जस्ता सामान्य कुरा पनि कार्यान्वयन भएका छैनन्,’ अध्यक्ष तामाङले भने, ‘सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने स्थानीयहरूले माग लगेर हामी छलफलमा बस्यौँ। तर हामीलाई कुनै समाधान दिइएको छैन।'
तामाङका अनुसार स्थानीयवासीले फोहोर र मानवबस्ती एकै ठाउँ बस्न नहुने भन्दै सदाका लागि उपत्यकाको फोहोर उपत्यकाभित्रै वा अन्यत्र व्यवस्थापनको समाधान खोज्न अनुरोध गरेका छन् । स्थानीयहरूले सरकारसँग पटक पटक सम्झौता हुने तर कार्यान्वयनका लागि चासो नदिने भएपछि आफूहरू पुन: आन्दोलनमा उत्रिनुपरेको बताउँछन् ।
यस पटक उनीहरूले फोहोर फाल्ने क्षेत्र वरिपरिको बस्ती स्थानान्तरण वा फोहोर फाल्ने ठाउँ परिवर्तनलाई उनीहरूले मुख्य माग बनाएका छन् । फोहोर संकलन भएको ठाउँबाट खोलामा समेत फोहोर निस्दा खोला क्षेत्रको बस्तीमा समेत असर पुगेको उनीहरूको दुखेसो छ ।
महानगरका प्रहरी प्रमुख सहरी विकास मन्त्रालयले गर्छु भनेर सहमति गरेका कामहरू कार्यान्वयन नहुँदा समस्या आएको बताउँछन् । केन्द्र सरकारका कारण अहिले आफूहरूको फोहोरको गाडी बाटोमानै रोक्नु परेको र सङ्कलनको कार्य समेत रोकिएको उनको आरोप छ ।
महानगरले अहिले काठमाडौँका स्थानीयलाई समस्या समाधान नहुँदासम्म फोहोरको व्यवस्थापन गर्दिन र सडकमा नफाल्दिन अनुरोध गरेको समेत सुनाए । उनका अनुसार अहिले बन्चरेडाँडामा ५० बढी फोहोर बोकेको गाडी लाइन लागेर बसेको छ ।
