भक्तपुर नगरपालिकाले पुजारी र ज्योतिषको सल्लाहमा तिहारका सबै चाडको मिति काग तिहारदेखि भाइ टीका सम्म निर्धारण गरेको छ।
भक्तपुर — भक्तपुर नगरपालिकामा यस वर्षको किजा पूजा (भाइ टीका) कार्तिक ५ गते मनाउने निर्णय भएको छ। भक्तपुर तलेजुका पुजारी र ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ र केदारप्रसाद दैवज्ञ जोशीको उपस्थितिमा बसेको बैठकले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तोकिएको मितिभन्दा फरक मिति निर्धारण गरेको हो।
भक्तपुरमा तलेजु भवानी मन्दिरका पुजारी तथा ज्योतिषले दिएको साइतलाई आधार मान्दै चाडपर्व मनाउने परम्परा रहेको छ।
नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए अनुसार, यस वर्षको तिहार कार्यक्रम यस प्रकार तय भएको छ: आज आइतबार काग तिहार, भोलि सोमबार लक्ष्मी पूजा, कार्तिक ४ गते म्ह: पूजा र कार्तिक ५ गते किजा पूजा (भाइ टीका) मनाइने छ।
उनले बताए अनुसार, बैठकले पुजारीहरूको सुझाव र तिथिलाई ध्यानमा राख्दै कार्तिक २ गते आइतबार काग तिहार, कार्तिक ३ गते बिहान कुकुर तिहार, सो दिनको ३ः०० बजेपछि औँसी तिथि लाग्ने भएकाले साँझ लक्ष्मी पूजा, कार्तिक ४ गते मंगलबार दिनको ४ः२९ बजेपछि कछला थ्वः प्रतिपदा तिथि परेकाले म्ह: पूजा र कार्तिक ५ गते साँझ ६ः२० बजेपछि द्वितीया तिथि परेकोले किजा पूजा (भाइ टीका) मनाउने निर्णय गरेको जानकारी दिए।
