भक्तपुरका प्रहरी चौकी स्थानीयको सहयोगमा पुन:स्थापना

भदौ २४ गतेको प्रदर्शनका क्रममा भक्तपुरका ११ प्रहरी कार्यालयमा पूर्ण रुपमा क्षति पुग्नुका साथै ५ वटामा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

आश्विन ३१, २०८२

सुन्दर शिल्पकार

Bhaktapur police station rehabilitated with the help of locals

What you should know

भक्तपुर — भदौ २४ को प्रदर्शनका क्रममा भक्तपुरको जगाती प्रहरी वृत्तमा आगजनी र तोडफोड गरी प्रदर्शनकारीले हातहतियारसमेत लुटेर लगेका थिए । प्रहरी वृत्त जगाती आगजनी र तोडफोडका कारण पूर्णरुपमा क्षति पुगेको थियो । स्थानीयहरुको सक्रियातामा भदौ २६ गतेदेखि समिति गठन गरी आर्थिक सहयोग संकलन गरी जगाती प्रहरी वृत्त पुन:स्थापनाको काम सुरु भयो । प्रहरी वृत पुन:स्थापनाको एक महिना पछि भने जगाती प्रहरी वृतले पुन: पुरानै स्वारुप पाएको हो ।

प्रहरी वृत मर्मत, रंगरोगन, बत्तीको वायरिङ गर्ने र प्रहरी प्रमुख बस्ने कक्ष लगायत विभिन्न फाँटका कार्यकक्षहरुमा आवश्यक कार्पेट  र फर्निचरहरुको बन्दोबस्त गरिसकेको समितिका अध्यक्ष कृष्णराज जाकिबन्जारले बताए । उनका अनुसार प्रहरी वृत मर्मतमा ५० देखि ५५ लाख रुपैयाँ खर्च भएको छ । तर हाल सम्ममा ४० लाख रुपैयाँ मात्रै आर्थिक सहयोग प्राप्त भएको उनले बताए । भदौ २४ गते साँझ प्रहरी वृत्त आगलागी र हातहतियार लुटपाट भएपछि टोल छिमेक समाज असुरक्षित भएको भन्दै प्रहरी वृत तत्काल पुन:स्थापना गर्न समिति गठन गरेर अघि बढेको अध्यक्ष जाकिबन्जारले बताए । जगाती प्रहरी वृत्त कात्तिक ३ गते हस्तान्तरण गरिने उनले बताए । 

भदौ २४ गते भक्तपुरका ११ प्रहरी कार्यालयहरुमा पूर्ण रुपमा क्षति पुग्नुका साथै ५ वटामा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेका अनुसार जगाती प्रहरी वृत्त, थिमी प्रहरी वृत्त, ताथली प्रहरी वृत, दधिकोट प्रहरी प्रभाग, थिमि प्रहरी प्रभाग, कटुन्जे प्रहरी प्रभाग, खरिपाटी प्रहरी प्रभाग, गुण्डु प्रहरी पोष्ट, नेक कलेज प्रहरी पोष्ट, सानो चाँगुनारायण प्रहरी चौकी र ट्राफिक प्रहरी परिसर कटुन्जे पूर्ण रुपमा क्षति पुगेको थियो । यस्तै, दुवाकोट प्रहरी प्रभाग, सुडाल प्रहरी प्रभाग, डोलेश्वर प्रहरी चौकी, पर्यटक प्रहरी नगरकोट र सानो थिमी ट्राफिक प्रहरी प्रभाग आसिक रुपमा क्षति पुगेको थियो । जगती प्रहरी वृत्तबाहेक सबै प्रहरी कार्यालयहरु स्थानीयहरुको सहयोगमा पुन:स्थापना भएर अहिले सञ्चालनमा छन् ।

जगाती प्रहरी वृतलगायत अन्य प्रहरी कार्यालयबाट विभिन्न हात हतियारसमेत लुटिएका थिए । जसमा ३८ रिभोल्बर १ थान, चिनियाँ पेस्तोल एक थान, राइफल २४ थान र एसएलआर ११ थान लुटिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । 

थिमि प्रहरी वृत्तमा पनि  आगजनी र तोडफोड भएको थियो तर हातहतियार भने प्रदर्शनकारीबाट जोगाउन सफल भएको थिमि प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले बताए । थिमि प्रहरी वृत्तका रहका ११ वटा गाडीहरुसमेत आगलागीबाट जोगाएको नायब उपरीक्षक ढुंगानाले बताए । थिमि प्रहरी वृतमा भने असोज ८ गते वाट नियमित काम कारबाही अघि बढेको उनले बताए । आगजनीबाट क्षतिग्रस्त प्रहरी वृत थिमिको पनि स्थानीयहरुको सक्रियातामा पुन:स्थापना भएको थियो । प्रहरी वृत थिमिको पुन:स्थापनामा १४ लाख रुपैयाँ आर्थिक संकलन भएको र बाँकी जिन्सी सामान गरी २५ लाख रुपैयाँमा काम सम्पन्न भएको संयोजक अनिश वैद्यले बताए । 

सुन्दर

Link copied successfully