योङ इण्डिजिनिष्ट लिगअन्तर्गतको सर्भ एण्ड सेभमार्फत आन्दोलनमा घाइते भएका मिलन थापालाई आर्थिक सहयोग र जेन-जीहरुको अभिभावकको भूमिका निर्वाह गरिरहेको संयोजक लिम्बुले बताए ।
What you should know
काठमाडौँ — योङ इण्डिजिनिष्ट लिग (वाईआईएल) र जेन-जी समूहहरूबीच अन्तरक्रिया भएको छ । भदौ २३ को जेन-जी आन्दोलन र २४ को प्रदर्शनबारे समीक्षा र आगामी रणनीति बनाउने उद्देश्यले काठमाडौंमा सोमबार कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा आदिवासी अभियन्ता विद्या महर्जन, एनटिइजेटके जेन-जीका संयोजक सुरेन्द्र घर्ती, जुगल हाइड्रो संघर्ष समितिका संयोजक रामकाजी तामाङ, राजनीतिक अभियन्ता निर्घ नविन, समान नेपालका प्रवक्ता आरके तामाङ, आन्दोलनका क्रममा घाइते मिलन खत्री, जेन-जी अभियन्ता रमेश कँडेल, प्रदिप भट्टराई र को–अर्डिनेटर बिजय लिम्बुलगायतको उपस्थिति थियो ।
अन्तरक्रियामा लिगले उठाएका प्रश्नहरूमा जेन-जी नेताहरूले धारणा राख्दै आन्दोलनका कारण, उद्देश्य र आगामी योजनाबारे विस्तृत रूपमा चर्चा गरेका थिए।
सुरेन्द्र घर्तीले आन्दोलनको तयारी तीन महिना अघिदेखि गरिएको जनाउँदै सरकारको भ्रष्टाचार, नातावाद र अन्यायपूर्ण गतिविधिले सडकमा उत्रिन बाध्य बनाएको उल्लेख गरे । अन्तरिम सरकारले जेन-जीहरुको माग पूरा नगरे फेरि आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।
त्यसैगरी को–अर्डिनेटर बिजय लिम्बुले भदौ २३ गते आन्दोलनका क्रममा भएका गोलीकाण्डपछि आन्दोलन स्वाभाविक प्रतिकारका रूपमा फैलिएको बताए ।
आन्दोलनका क्रममा घाइते भएका विकास रसाइलीले गाउँ समाजदेखि नै परिवर्तनको आवश्यकता महसुस भएकाले आन्दोलनमा सहभागी भएको जनाए । उनले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।
जेन-जी २.० का अभियन्ता सुनिल शाहीले प्रधानमन्त्री सुशीला कार्की पुस्ताको सरकार ल्याउन आन्दोलन नगरिएको भन्दै जेन-जी पुस्ता नै सरकारमा हुनुपर्नेमा जोड दिए । उनले सरकारले जेन-जीको भावनाविपरीत काम गरेको, अन्दोलनकारीहरुलाई आपराधीकरण गर्न लागीपरेको आरोप लगाए ।
त्यसमा राष्ट्रिय मुक्ति क्रान्तिका रणनीतिकार बुद्धछिरिङ मोक्तानले तयार पारेको 'योङ इण्डिजिनिष्ट लिग घोषणापत्र' सार्वजनिक गरिएको थियो । घोषणापत्रमार्पत औपनिवेशिकता, बाह्य प्रभुत्व र पुँजीवादी नीतिविरुद्ध स्वदेशी स्वशासनको दाबीलाई अघि सारिएको छ ।
त्यसैगरी लिगका संयोजक सनम लिम्बुले जेन-जी आन्दोलनका सहिद र घाइतेहरूको बलिदानलाई स्मरण गर्दै भने, ‘भ्रष्टाचार र अन्यायविरुद्ध लडेका युवाहरूको सपना साकार पार्न लिग निरन्तर प्रतिबद्ध रहन्छ । स्वदेही भूमिमाथि हुने सबै दमनविरुद्ध हामी सधैं अग्रपंक्तिमा रहनेछौं ।’
योङ इण्डिजिनिष्ट लिगअन्तर्गतको सर्भ एण्ड सेभमार्फत आन्दोलनमा घाइते भएका मिलन थापालाई आर्थिक सहयोग र जेन-जीहरुको अभिभावकको भूमिका निर्वाह गरिरहेको संयोजक लिम्बुले बताए ।
