महानगरको कार्यविधिअनुसार ४५ वर्ष पूरा भई ७५ वर्ष ननाघेका, कम्तीमा २० वर्ष अनुभव भएका नेपाली वा स्वीकृत विदेशी नागरिकले स्वयंसेवाका लागि आवेदन दिन सक्नेछन् ।
What you should know
काठमाडौँ — काठमाडौं महानगरपालिकाले जागिर वा व्यवसायबाट अवकाश भएका व्यक्तिसँग हातेमालो गर्ने कार्यक्रम ल्याएको छ ।
महानगर प्रमुख बालेन्द्र शाहले आफ्नो फेसबुक पेजमार्फत् ‘सिल्भर भोलेन्टियर’ कार्यक्रमबारे आइतबार जानकारी गराएका हुन् । ‘तपाईंको अनुभवलाई उपयोग गर्दै देश निर्माणमा एउटा इँट्टा थप गर्ने अवसर सहित सिल्भर भोलिन्टियर कार्यक्रम ल्याएका छौं,’ शाहले उल्लेख गरेका छन् । उनका अनुसार विभिन्न क्षेत्रबाट अवकाश भएकाहरूको ज्ञान, सीप र सोचलाई शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास, सम्पदा संरक्षण लगायतका क्षेत्रमा काम गर्नका लागि उनले आह्वान गरेका हुन् । आवेदनका लागि महानगरले एउटा फर्म जारी गरेको छ । जसमा इच्छुक व्यक्तिले बायोडाटासहित आफ्नो पूरा विवरण गरेर सबमिट गर्नुपर्नेछ ।
सहरी योजना आयोगको सचिवालयका सदस्य विवेक बास्तोलाका अनुसार महानगरको कार्यविधिमा यो कार्यक्रम समेटिएका कारण यसलाई लागू गर्न खोजिएको हो । ‘विभिन्न क्षेत्रमा अनुभवी र ज्ञान बटुलेका विभिन्न क्षेत्रका व्यक्तिहरूबाट हप्तामा ५ घण्टा समय लिएर ती क्षेत्रहरूमा उनीहरूको सीप प्रयोग गर्ने महानगरको योजना हो,’ बास्तोलाले भने, ‘यसरी तोकिएको समयमा उहाँहरूलाई महानगरले बोलाउँछ । उहाँहरूले आफ्नो दक्षता प्रयोग गर्नुहुन्छ ।’ यो उनीहरूले स्वयंसेवी रुपमा गर्न सक्नेछन् ।
‘कोही सम्बन्धित विषयमा पढेर विज्ञ भएका हुन्छन् । कोही लामो समयदेखिको अनुभवले । ४५ वर्षभन्दा अगाडि उहाँहरूले आफ्नो करिअरका लागि गर्नुभयो । अब समाजका लागि पनि बाँकी केही समय दिन उत्प्रेरित गर्नका लागि पनि यो योजना लागू गरिएको हो,’ उनले भने । यसले ज्ञान र सीपको प्रयोगका साथै रुपान्तरण हुने पनि महागनरको विश्वास रहेको बास्तोलाले बताए ।
महानगरको कार्यविधिअनुसार ४५ वर्ष पूरा भई ७५ वर्ष ननाघेका, कम्तीमा २० वर्ष अनुभव भएका नेपाली वा स्वीकृत विदेशी नागरिकले स्वयंसेवाका लागि आवेदन दिन सक्नेछन् । स्वयंसेवकले हप्तामा पाँच घण्टा सेवा दिनुपर्नेछ र काम प्रारम्भ गरेपछि कम्तीमा एक वर्षको अवधि पूरा गर्नुपर्नेछ । कार्यविधिअनुसार कार्यक्रम आवश्यकता अनुसार बीमा र प्रशिक्षणको व्यवस्था हुनेछ । छनोट समितिले योग्यता, अनुभव, सेवा भावना र सूचना प्रविधिको ज्ञानको आधारमा मूल्यांकन गर्नेछ ।
स्वयंसेवकले समितिको निर्देशनअनुसार काम गर्नुपर्नेछ र मासिक प्रतिवेदन बुझाउनुपर्नेछ । उत्कृष्ट सेवा दिने स्वयंसेवकलाई पुरस्कार वा सम्मान समेत प्रदान गरिने महानगरले जनाएको छ ।
