प्रहरीको अनुरोधमा भनिएको छ, 'फोन कल गर्दा आवाज कम गरौँ वा हेडफोन प्रयोग गरौँ, म्यासेजमै संवाद गरौँ ।' त्यस्तै प्रहरीको अर्को अनुरोध छ, 'भान्सामा भाँडाकुँडाको ठूलो आवाज उत्पादन नगरौँ ।'
What you should know
काठमाडौँ — काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त र अवरोधमुक्त छिमेकी अभियानका लागि विभिन्न उपाय अवलम्बन गर्न अनुरोध गरेको छ । विभिन्न मानवीय क्रियाकलापले ध्वनि प्रदूषण कम गर्न भन्दै विभिन्न उपाय अपनाउन अनुरोध गरेको हो ।
ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक भएको र ध्वनि प्रदूषणका कारण खास गरी गर्भवती महिला, मुटुरोगी एवं वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानिसक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर परेको प्रहरी कार्यालयले जनाएको छ ।
राति अनावश्यक आवाज ननिकाल्न फोन गर्दा आवाज कम गर्ने र हेडफोन प्रयोग गर्न प्रहरीको सुझाव छ । प्रहरीको अनुरोधमा भनिएको छ, 'फोन कल गर्दा आवाज कम गरौँ वा हेडफोन प्रयोग गरौँ, म्यासेजमै संवाद गरौँ ।' त्यस्तै प्रहरीको अर्को अनुरोध छ, 'भान्सामा भाँडाकुँडाको ठूलो आवाज उत्पादन नगरौँ । राति गेट ढकढकाउने वा बेल बजाउने कार्य नगरौँ, आवश्यकताअनुसार फोनको प्रयोग गरेर ढोका खोल्न लगाऔँ ।'
त्यस्तै बिहानको शान्ति कायम गर्न प्रहरीको यस्तो अनुरोध छ
त्यस्तै राति शौचालयमा फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाउन प्रहरीको अनुरोध छ । त्यस्तै बिहान सबेरै र राति प्रेसर कुकरमा सिटी नलगाउन पनि प्रहरीको अनुरोध छ । घरमा संगीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न पनि प्रहरीको अनुरोध छ । सडकमा अनावश्यक हल्ला नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै सामाजिक र धार्मिक क्रियाकलापमा पनि सचेत बन्न प्रहरीको अनुरोध छ । 'धार्मिक वा संस्कृतिक कार्यक्रममा ध्वनि नियन्त्रण गरौँ । मन्दिर, गुम्बा, मस्जिदमा ध्वनि नियन्त्रण गर्दै पूजा/प्रार्थना गरौं,' प्रहरीको अनुरोध छ । प्रेसर हर्न वा मोडिफाई गरी ठूलो आवाज निकालेर सवारी साधन नचलाउन पनि प्रहरीको अनुरोध छ । ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले त्यस्तो कार्यमा बन्देज लगाई ३ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने भन्दै प्रहरीले सावधान गराएको छ ।
