काठमाडौँको शंखमुलमा छोटो दूरीको सडक महिनौँदेखि अवरुद्ध हुँदा स्थानीय र यात्रुहरूलाई निकै समस्या परेको छ।
What you should know
काठमाडौँ — काठमाडौँ–३१, शंखमुलको गणेश मार्गमा भाँडा पसल सञ्चालन गर्दै आएका नारायण अधिकारीलाई पसल खोल्दै गर्दा अचेल पानी ठूलो पर्छ कि भन्ने चिन्ताले सताउँछ। कारण उनको पसल अगाडिको सडक । सडक खनेर छाडिएको महिनौँ भयो। समयमै सडक निर्माण नहुँदा वर्षाको पानी सबै उनको पसलमा छिर्छ।
‘एक हप्ता अघिको ठूलो वर्षामा माटोसहितको पानी पसल भित्र छिर्दा क्षतिसँगै सास्ती भोग्नु पर्यो,’ अधिकारीले भने, ‘पुनर्निर्माणको काम १५ दिनमा सक्छौँ भनेको सुनेको थिएँ। तर, बाटो भत्काएपछि काम नै भएको छैन।’
उनका अनुसार बाटो समयमा नबन्दा व्यवसाय समेत घटेको छ। ‘काठमाडौँको शंखमुल जस्तो ठाउँमा महिनौँसम्म पनि यति छोटो दूरीको बाटो बन्दैन,’ आक्रोशित उनले भने, ‘आँखा नै अघि मोटरसाइकलहरू, मान्छेहरू पानी पर्दा चिप्लिएर लडेको देख्दा झन् दुःख लाग्छ। जनताको मतलब कसैलाई छ र!’
कपडा सिलाई पसल सञ्चालन गर्दै आएका सलमान आलम बाटोको कारण पसलको भाडा तिर्न पनि मुस्किल भएको बताउँछन्। ‘बाटो बिग्रेपछि ग्राहक पनि आउन छाडे,’ उनले चिन्तित हुँदै भने, ‘मानिसको चहलपहल हुने ठाउँमा काम छिटो गर्नुपर्थ्यो। बाटोको कारण यस पटकको तीजमा व्यापार घट्यो, दसैँ–तिहारमा झन् के हुने हो।’
सोही ठाउँमा रेशम गिरीको दाइको दूध डेरी पसल छ। तर पसल आउँदा उनी बाटोका कारण घुमेर लामो बाटो आउन बाध्य छन्। घाम लाग्दा पसलभरि धुलो र पानी पर्दा बाटो हिलो हुँदा किन्न आउनेलाई पनि सास्ती भएको उनले सुनाए। ‘काठमाडौँ जस्तो ठाउँमा राति पनि काम गरेर समस्या हल गर्नुपर्ने हो,’ उनले भने, ‘यसले गर्दा स्वास्थ्यमा समेत असर भएको छ।’
नियमित यही सडक हुँदै ओहोर–दोहोरो गर्ने शिव गुरुङ ६ महिनादेखि यस्तै सास्ती भोगेको बताउँछन्। ‘सरकार र ठेकेदारको सहमति कस्तो छ? यति व्यस्त बाटो र धनाबस्तीमा लामो समयसम्म बाटोलाई धुलाम्मे र हिलाम्मे बनाउनु भनेको दुर्भाग्य हो,’ उनले भने, ‘अनुगमन गर्नेले पनि के गर्ने गरेका छन्। ढल हालेको देखे त्यसपछि लामो समयदेखि सडक यस्तै छ। यस्तो पाराले दसैँ–तिहारसम्म पनि बन्ने जस्तो लाग्दैन।’ उनका अनुसार यसले गर्दा स्थानीयसँगै यात्रुहरूलाई पनि सास्ती भएको छ। पानी पर्दा हिलो र घाम लाग्दा धुलोले हिँड्नै नसक्ने हुन्छ।
करिब साढे तीन सय मिटरको यो सडकले निर्माण कम्पनी र सरकारको गैर जिम्मेवारीले जनताले पाएको सास्तीको प्रतिनिधित्व गर्छ। काठमाडौँ महानगरपालिका–३१ का वडा अध्यक्ष सरोज ढकालले यो सडकमा नयाँ ढल निकाससहितको काम भइरहेको बताउँछन्। उनका अनुसार ट्रङ्ग कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लिले ढल निकास निर्माणसहित ब्ल्याक टप गर्ने काम गरिरहेको छ।
‘हामीले ५० वर्ष पुरानो ६ इन्चको ढल निकासलाई हटाएर ४२ इन्चको नयाँ ढल निकास बनाउन लागेको छ,’ अध्यक्ष ढकालले भने, ‘वर्षाका कारणले काम केही ढिलो भए पनि अब ग्राभेल झार्ने र पिचको काम सुरु हुन्छ।’ सम्झौताअनुसार निर्माण कम्पनीले जेठ १५ गते कार्यादेश लिएको यस निर्माण असोज मसान्तसम्म सक्नुपर्ने छ। यो सडक निर्माणको लागि वडा कार्यालयले भ्यास र पीएसबाहेक १ करोड ७ लाख १९ हजार ३२३ रुपैयाँमा सम्झौता गरेको हो।
