शुक्रबार पाँचौं दिन पनि व्यवसायी र कवाडी संकलकले भृकुटीमण्डपमा भेला भएर महानगरपालिकाको कार्यालय अगाडि पुगेर नारा लगाउँदै प्रर्दशन गरे । उनीहरूमध्ये प्रायः सबैको हातमा राष्ट्रिय झण्डा थियो । उनीहरूले विभिन्न पाँचबुँदे माग अघि सारेका छन् ।
What you should know
काठमाडौँ — काठमाडौं महानगरले आफूहरुको काम खोसेको भन्दै कवाड व्यवसायी आन्दोलनमा उत्रिएका छन् । महानगरले दुई वर्षदेखि आफूहरूलाई गुण्डागर्दी शैलीमा विभिन्न प्रकारको यातना दिएको, कुटपिट गरेको, कवाड व्यवसाय गरेका ठाउँ भत्काएको, कवाड संकलन गर्ने मजदुरको साइकल जफत गरेको साथै तोडफोड गरेको आरोप लगाउँदै उनीहरू पाँच दिनदेखि आन्दोलनरत छन् ।
महानगरले रोजीरोटी खोस्ने सोचले धेरै समयदेखि दुःख दिएको उनीहरूको आरोप छ ।
शुक्रबार पाँचौं दिन पनि व्यवसायी र कवाडी संकलकले भृकुटीमण्डपमा भेला भएर महानगरपालिकाको कार्यालय अगाडि पुगेर नारा लगाउँदै प्रदर्शन गरे । उनीहरूमध्ये प्रायः सबैको हातमा राष्ट्रिय झण्डा थियो । उनीहरूले विभिन्न पाँचबुँदे माग अघि सारेका छन् ।
संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने हकको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्य तत्काल रोक्नुपर्ने उनीहरूको माग छ । त्यस्ता कार्यमा संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने, कवाड, व्यवसायी, संकलक र मजदुरको जीउ–धनको सुरक्षा सुनिश्चित गर्नुपर्ने र महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको नोक्सानीको क्षतिपूर्ति दिनुपर्नेलगायत मागसमेत उनीहरूले राखेका छन् ।
२० वर्षदेखि कवाड संकलनको काम गर्दै आएका रौतहटका ५२ वर्षिया प्रदीप शाह कवाड संकलनको काम गरेर ६ जनाको परिवार पाल्दै आएका छन् । तर महानगरले दुईवर्ष देखि दुःख दिइरहेको र आफू जस्ता मजदूरी गरेर खानेहरूको रोटी खोस्न खोजेको उनी गुनासो गर्छन् । ‘जिन्दगी कवाडको काम गरेर नै सकिन लाग्यो । घर नै यसैबाट कमाएको पैसाले चलाएको थिएँ । अब कवाड पनि संकलन गर्न नपाएपछि के काम गरेर खाने ? हामीसँग अरु कुनै सीप छैन,’ शाहले भने, ‘घरबाट रासन सक्कियो, छोराछोरीको फी तिर्न पैसा पठाओ भन्दै फोन आउँछ । कामै नभएपछि कसरी कहाँबाट पठाउने मैले यहाँ के खाने ? बहुत तनावमा छु । काम गर्न पाउनपर्छ ।’
३० वर्षदेखि कवाड संकलनको काम गर्दै आएका रौतहटका राकेश यादव आफूहरूलाई महानगरले काठमाडौंबाट लखेट्न पेसामा प्रहार गरेको बताउँछन् । भन्छन्, ‘हामीले गरेको कामले सबैको टाउको दुख्न थाल्यो । काम गरेर खान नपाउने हो भने के गर्ने,’ यादव भन्छन्, ‘कसैको लुटेर खाएको हैन, दुःख गरेर खाएको हो । यो काम गर्न पाएनौं भने हामी कहाँ के काम गर्न जानु ?’
रौतहट, राजदेवी घर भएका ३० वर्षीय गौरीशंकर शाहले पनि १० वर्षदेखि कवाड संकलन गर्दै आएका थिए । यही पेसाबाट उनको ७ जनाको परिवारको गुजारा चलिरहेको थियो । तर, केही समयदेखि काठमाडौं महानगरले कवाड व्यवसाय गर्न नपाउने भनेपछि ऋण खोजेर घर चलाइरहेको उनले बताए ।
‘हामीलाई पहिला यस्तो केहिी तनाव भएको थिएन । मेयरमा बालेन आएपछि उहाँले हाम्रो पेसालाई थप व्यवस्थित बनाउनुहोला भन्ने आस गरेका थियौं । तर हामी गलत रहेछौं । गर्दै आएको काम पनि खोसिँदै छ,’ उनले भने, ‘काम नभएर ऋण खोजेर घर पैसा पठाइरहेछु । पहिलाको जसरी नै काम गर्न पाउनुपर्छ, त्यत्ति एउटा अनुरोध छ ।’
महानगरपालिकाले आफ्ना माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने आन्दोलनरत कवाड व्यवसायी तथा कवाड संकलनहरूको भनाइ छ । महानगरपालिकाले कवाड व्यवसायिको माग छिटो सम्बोधन गर्नुपर्ने सर्लाहीका ५० वर्षीय राजेश सिंहको भनाइ छ । ‘महानगरपालिकाले कवाड व्यवसाय हटाउन निर्देशन दिएको छ । काठमाडौंको सिको गरेर अरु नगरपालिकाले पनि बस्न दिइरहेका छैनन्,’ उनले भने, ‘यो त कमाएर खान दिन्नँ भनेको हो । हाम्रो सामान फाल्ने र स्टोरमा डोजर चलाउने गर्दा दुःख लाग्छ । माग छिटो पुरा गर्नुको विकल्प छैन ।’
