दबु प्याखं ब्युँताउँदै नेपाल भाषा एकेडेमी

सुरुमा ललितपुरका तीन वटा सांस्कृतिक दबु र त्यसपछि लोकप्रियताका आधारमा अन्य स्थानमा पनि मञ्चन गरिनेछ ।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

Nepal Language Academy is awakening Dabu Pyakh

काठमाडौँ — नेपाल भाषाको वाङ्गमय क्षेत्रमा क्रियाशील प्राज्ञिक संस्था नेपाल भाषा एकेडेमी र ललितपुर महानगरपालिकाको सहकार्यमा ऐतिहासिक परम्परागत शैलीमै नेपाल भाषा दबु प्याखं (नेपाल भाषामा डबली नाटक) निर्माण हुने भएको छ ।

लोप हुन लागेको डबली नाटकलाई ब्युँताउँदै नयाँ पिँढीलाई नेवाः भाषा, कला, संस्कृति र संस्कारबारे पहिचान प्रस्तुत गर्न नेवाः दबु प्याखं प्रदर्शन गर्न लागेको आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

इन्द्रजात्राका अवसरमा दबु प्याखं परापूर्वकालदेखि नै देखाउने गरिएको थियो । सत्कर्म र अनित्यकर्म गर्दा कस्तो सम्मान र दण्डको परिणाम प्राप्त हुन्छ भन्ने सन्देश र शिक्षा दिन यस्ता नाटक प्रभावकारी हुने गर्थे । जनसमुदायबीच खुला ठाउँमा प्रदर्शन गर्ने चलन छ ।

दबु प्याखं निर्माण र प्रदर्शनका लागि नेपाल भाषा एकेडेमीका तर्फबाट दबु प्याखं समिति गठन गरिएको छ । उक्त समितिमा विजयरत्न असंबरे संयोजक छन् ।

एकेडेमीका चान्सलर मल्ल के सुन्दरले दबु प्याखं प्रदर्शनबारे प्रकाश पारेका थिए । दबु प्याखंमा यसपालि ललितपुरका कलाकार र प्याखं समूह मात्र सम्मिलित गराउने तयारी भइरहेको चान्सलर सुन्दरले बताए । 

दबु प्याखं सुरुमा ललितपुरका तीन वटा सांस्कृतिक दबुमा मञ्चन गरिनेछ भने त्यसपछि लोकप्रियताका आधारमा अन्य स्थानमा पनि मञ्चन गरिने आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully