झमझम वर्षाको समयमा झुप्रा र छाप्रा भत्काउने, सामान लुटपाट गर्ने र सुकुम्वासीलाई उठिबास लगाउने कामले संविधानप्रदत्त आवास तथा भूमिअधिकार हनन् भएको वक्तव्यमा उल्लेख छ ।
काठमाडौँ — भक्तपुरको मनोहरा क्षेत्रमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएर सुकुम्बासी बस्तीमा उठिबास लगाएकोप्रति माओवादी केन्द्रनिकट चार जनसंगठनहरूले आपत्ति जनाएका छन् ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का अध्यक्ष जगतबहादुर सिम्खडा, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपाली र अखिल नेपाल सुकुम्वासी संघका अध्यक्ष अमर परियारले संयुक्तरुपमा प्रेस वक्तव्य जारी गर्दै उक्त घटनालाई 'डोजर आतङ्क' भन्दै यस्ता कार्य तत्काल रोक्न माग गरेका हुन् ।
महानगरपालिकाले प्रहरी र नगर प्रहरी परिचालन गर्दै गरिब किसान, मजदुर, दलित र जनजाति सुकुम्वासी बसोबासीमाथि गरिएको आक्रमण अमानवीय भएको आरोप लगाएका छन् । झमझम वर्षाको समयमा झुप्रा र छाप्रा भत्काउने, सामान लुटपाट गर्ने र सुकुम्वासीलाई उठिबास लगाउने कामले संविधानप्रदत्त आवास तथा भूमिअधिकार हनन् भएको वक्तव्यमा उल्लेख छ ।
ती संगठनहरूले दशकौँदेखि बस्ती निर्माण गरी जनताले कानुनअनुसार लालपुर्जा पाउन निवेदन दिइसकेको अवस्थामा प्रक्रिया अघि नबढाई बलजफ्ती डोजर चलाउनुले एमाले–काँग्रेस गठबन्धन सरकार, काठमाडौँ महानगरपालिका र भूमि समस्या समाधान आयोगको दलित, सुकुम्वासी तथा गरिबविरोधी चरित्र उदाङ्गो भएको दाबी गरेका छन्।
