अनलाइन ठगी, क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा, हनी ट्रयाप जस्ता घटनाको उजुरी गर्नेहरु समेत बढेको काठमाडौं प्रहरीले जनाएको छ ।
What you should know
काठमाडौँ — पछिल्लो समय काठमाडौंमा अपराधको स्वरूप वित्तीय ठगी र प्रविधिमूलक आपराधिक क्रियाकलापतर्फ बढी केन्द्रित हुन थालेको देखिएको छ । बुधबार पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले प्रस्तुत गरेको तथ्यांकले बैंकिङ कसुर, लघुवित्त तथा सहकारी ठगी, अनुचित लेनदेन र मिटरब्याजजस्ता वित्तीय अपराधहरू बढेको देखाउँछ ।
यो आर्थिक वर्षमा मात्र काठमाडौंमा १२ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएकोमा बैंकिङ कसुरको मुद्दा ६ हजार ५ सय ५३ वटा छ । यो भनेको कुल मुद्दाको ५०.७४ प्रतिशत हो । अभद्र व्यवहारमा १ हजार ९ सय ५३, चोरीमा ९ सय ५१ र लागूऔषध कारोबारमा ४ सय ३१ मुद्दा दर्ता भएको अधिकारीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा १ हजार ७ सय ४१ बैंकिङ कसुर दर्ता भएकोमा क्रमश २०७८/२०७९ मा ३ हजार ७ सय १५, २०७९/०८० मा ७ हजार १ सय १ र २०८०/२०८१ मा ५ हजार ७ सय १ मुद्दा दर्ता भएको थियो ।
प्रहरीले पछिल्लो समय सूचना–प्रविधिको दुरुपयोगबाट हुने साइबर अपराधमा समेत वृद्धि भएको प्रहरीले जनाएको छ । अनलाइन ठगी, क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा, हनी ट्रयाप जस्ता घटनाको उजुरी गर्नेहरु समेत कार्यलयमा बढेको अधिकारीले बताए । उनले यस्ता अपराधको रोकथामका लागि विशेष निगरानी, प्राविधिक अनुसन्धान र जनचेतना अभिवृद्धिमा समेत जोड दिइएको बताएका छन् ।
परिसरले दैनिक शान्ति सुरक्षाका लागि मोबाइल सीआरभी, मोटरसाइकल गस्ती, पैदल गस्ती, प्रहरी चेकिङ, पिकेट र अनुगमनमा पटकपटक गरेर २ हजार ५ सय २१ जनशक्ति परिचालित गरेको छ भने ५ सय ५२ ठाउँमा प्रहरीको उपस्थिति रहने गरेको छ ।
प्रहरीको १०० नम्बरमा गत आर्थिक वर्षमा मात्र ४ लाख २८ हजार ९६ फोन आएको तथ्यांक छ । जुन फोनमा झगडा सम्बन्धी सबैभन्दा बढी सूचना आएको थियो ।
