काठमाडौँ — नेपाल प्रहरी र रोटरी इन्टरनेसनलले वातावरण जोगाउने अभियानको थालनी गर्दै शनिबार काठमाडौंको कपनमा फलफूलका ५ सय बिरुवा रोपेका छन् ।
नेपाल प्रहरीको विशेष कार्यदल कपन र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ को संयुक्त आयोजनामा कपनस्थित विशेष कार्यदल परिसरमा ओखर, तेजपात, लप्सी, स्याउ, कागती, सुन्तला, जुनार, नासपाती लगायतका १६ जातका फलफूलका ५ सय ५० बिरुवा रोपिएको हो ।
कार्यदल प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली र रोटरी इन्टरनेसनलका ‘लिड चेयर’ रोटरियन विष्णुहरि दाहालले संयुक्त रुपमा वृक्षारोपण अभियान सुरु गरेका हुन् । वृक्षारोपण गर्दै प्रहरी उपरीक्षक ज्ञवालीले यस्ता सिर्जनात्मक कामले पर्यावरणमा सकारात्मक प्रभाव पर्ने र अक्सिजनसहित शीतलता प्रदान गर्ने बताए ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विनोद कोइरालाको पहलमा थालनी गरिएको अभियानमा नेपालभरका सम्पूर्ण रोटरी क्लबले देशभर चलाएको अभियानमा ५० हजार वृक्षारोपण गर्ने लक्ष्य रहेको रोटरी इन्टरनेसनल ‘लिड चेयर’ दाहालले बताए ।
अभियानमा रोटरी क्लब अफ मातृभूमि बलुवाटार, रोटरी डिस्ट्रिक्ट ३२९२ का रोटरी क्लब अफ बौद्ध, रोटरी क्लब अफ काठमाडौं डाउनटाउन, रोटरी क्लब अफ राजधानी, रोटरी क्लब अफ गोङ्गबु, रोटरी क्लब अफ ग्रीनल्यान्ड, रोटरी क्लब अफ ठमेल र रोटरी क्लब अफ काठमाडौं सर्कल संयुक्त रुपमा सहभागी भएका थिए । वृक्षारोपणमा क्लब असिस्टेन्ट गभर्नरहरू महेन्द्रराज भुसाल, बुद्धिमान श्रेष्ठ, कविता मानन्धरलगायत उपस्थित थिए ।
