सडक दुर्घटना कम गर्न सडक संकेत राख्दै काठमाडौं महानगर

कामपाले पैदलयात्री र सवारी चालकलाई सडक प्रयोग कसरी गर्ने भन्नेबारे जनचेतना दिने तयारी पनि गरेको छ।

श्रावण १०, २०८२

कान्तिपुर संवाददाता

Kathmandu metropolis keeping road signs to reduce road accidents

What you should know

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि आफ्नो मातहतका सडकमा सडक संकेत राख्ने तयारी गरेको छ।

यसअघि राखिएका चिह्नहरू अहिले धेरै स्थानमा मेटिएका छन्। यसरी सडकमा चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समेत समस्या भएकाले कामपाले सडक विभागसँगको सहकार्यमा त्यस्ता चिह्नहरू राख्न लागेको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिएका छन्।

सल्लाहकार श्रेष्ठका अनुसार उक्त चिह्न राख्नका लागि आवश्यक सामग्री ल्याइसकिएको र यही साउन महिनादेखि काम सुरु गरिने छ। विभागसँगको सहकार्यमा मुख्य राजमार्गबाहेक अन्य सबै सडकमा कामपाले नै सडक संकेत राख्ने तयारी पूरा भएको उनले बताए।

कामपाले पैदलयात्री र सवारी चालकलाई सडक प्रयोग कसरी गर्ने भन्नेबारे जनचेतना दिने तयारी पनि गरेको छ। सडक संकेत भएको र नभएको स्थानमा सडकको प्रयोग कसरी गर्ने भन्नेबारे चालक र यात्रुहरूलाई धेरैले ज्ञान नहुँदा पछिल्लो समय सामान्य गल्तीबाट पनि दुर्घटना बढिरहेकोले, त्यसलाई कम गर्न सडकमै प्रयोगकर्तालाई जनचेतना दिने उद्देश्य लिएको सल्लाहकार श्रेष्ठले जानकारी दिए।

यसै आर्थिक वर्षमा कामपाले सडकमा आवश्यक सामग्री थप गर्ने तयारी गरेको छ। ट्राफिक कोन, डिभाइडर, सडक टल्कने संकेतजस्ता उपकरण राखेर सुरक्षालाई थप मजबुत बनाउने विश्वास कामपाको छ।

कामपाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने उद्देश्यसहित ट्राफिक क्लब गठनको काम पनि अघि बढाएको छ। प्रत्येक विद्यालयबाट १० देखि १५ जना विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गरिने र छनोटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिइने सल्लाहकार श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार छनोटमा परेका ती विद्यार्थीले विद्यालयमा बालबालिका आउने–जाने समय (बिहान ९ देखि १० बजेसम्म र अपराह्न ३ देखि ४ बजेसम्म) सडक पार गराउन सहयोग गर्ने गरेका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully