काठमाडौँ — भक्तपुरको राधेराधेमा सञ्चालित ‘फिस टनेल एक्स्पो’ अहिले दर्शकहरूको आकर्षणको केन्द्र बनेको छ । एक्स्पोमा सवा सयभन्दा बढी प्रजातिका रंगीन सामुन्द्रिक माछा राखिएको छ ।
औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा असार ६ गतेदेखि सुरु एक्स्पोमा अहिलेसम्म ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरिसकेको दाबी आयोजकको छ ।
आयोजक संस्थाका अध्यक्ष सन्दीप महतका अनुसार साउन १० गतेसम्म चल्ने एक्स्पोमा १२६ प्रकारका रंगीन र दुर्लभ माछा प्रदर्शनीमा राखिएका छन्, जुन भारत र थाइल्यान्डबाट आयात गरिएका हुन् ।
बालबालिकालाई जलजीवको ज्ञान दिने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा विद्यार्थीकालागि शैक्षिक छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा सामान्यतया दुई सय रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म पर्ने माछा अवलोकन गर्न सकिन्छ ।
