काठमाडौँ — काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मेयर बालेन्द्र शाहले काठमाडौं महानगरलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, वातावरणमैत्री र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्ने प्रतिबद्धतासहित आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम नगरसभासमक्ष प्रस्तुत गरेका हुन् ।
मेयर शाहले आर्थिक वर्ष २०८१/८२ मा कार्यान्वयन हुन बाँकी नीति तथा कार्यनीति र सम्पन्न हुँन बाँकी योजना तथा कार्यक्रमलाई निरन्तरता दिइने, आवधिक, रणनीतिक तथा क्षेत्रगत नीति तर्जुमालाई पूर्णता दिइने जनाएका छन् ।
स्थानीय उत्पादन, रोजगारी, उद्यमशीलता र लगानीमैत्री वातावरणलाई प्रवर्द्धन गर्दै समावेशी आर्थिक विकासको आधार सुदृढ, एक वडा, एक उत्पादन नीतिलाई प्राथमिकता दिएको मेयर शाहले जनाए ।
साथै, बालबालिकाको समग्र शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि प्रत्येक सामुदायिक विद्यालयमा गुणस्तरीय प्रारम्भिक बाल विकास केन्द्रको स्थापना गरिने महानगरले जनाएको छ ।
बालबालिकाको स्वास्थ, पोषण र प्रारम्भिक सिकाइको वातावरण सुनिश्चित गर्दै पोषणयुक्त आहाराको नियमित व्यवस्था, शिक्षक क्षमता अभिवृद्धि, बालमैत्री पूर्वाधार निर्माण तथा अभिभावक सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने मेयर शाहको भनाइ छ ।
