काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु भनी ठगीको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने ललितपुर महानगरपालिका–८ घर भएका सजु श्रेष्ठ र काठमाडौं–२६ बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका–६ घर भएका नारायण लाम्ताङ्गे रहेका छन् ।
प्रहरीका अनुसार सजुले सर्बिया पठाइदिन्छु भन्दै पीडितहरूबाट २० लाख रूपैयाँ र नारायणले ग्रीस पठाइदिन्छु भन्दै १६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । उनीहरूलाई पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौं–१६ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
