काठमाडौँ — नेपाल भाषा मंका खलः ललितपुरले नेपाल भाषाको पहिचान र धर्म संस्कृति संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लामा सञ्चालित देवी नाच गुठीलाई सम्मान गरेको छ ।
खलःले शनिबार विशेष समारोहबीच ललितपुर महानगरपालिका–२८ को हरिसिद्धि भवानी देवी गुठी, खोकनाको रुद्रायणी गुठी, पाटनको अष्टमात्रिका नाच, कात्तिक नाच र गोदावरी नगरपालिका–१२ थेच्वको नवदुर्गा भवानी देवी नाच सञ्चालन गर्ने प्रत्येक गुठीलाई १० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
यसैबीच लुम्बिनी विश्वविद्यालयका डिन माणिकरत्न शाक्यद्वारा लिखित ललितपुरका प्रसिद्ध मुकुण्डो नाचहरु पुस्तक पनि विमोचन गरिएको छ । पुस्तकमा हरिसिद्धि भवानी देवी नाच, खोकनाको रुद्रायणी नाच, पाटनको अष्टमात्रिका नाच, कात्तिक नाच र थेच्वको नवदुर्गा भवानी देवी नाचको ऐतिहासिक पाटो र परम्पराबारेमा वर्णन गरिएको छ ।
नेपाल भाषा मंकाः खलः ललितपुरका सहसचिव राजु ताम्रकारले नेपाल मण्डलको नेवा सभ्यताभित्र सञ्चालन हुँदै आइरहेको पौराणिक नाचको अभिखेल तयार पार्ने उद्देश्यले पुस्तक प्रकाशन गरेको बताए । लुम्बिनी विश्वविद्यालयका डिन शाक्यले नाचको महत्व बारेमा जानकारी दिए ।
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले परम्परागत रुपमा सञ्चालन हुँदै आइरहेको देवी नाचले नेपालको पहिचान जोगाउँदै आएकोले यसको संरक्षण प्रवर्द्धनमा सबैले भूमिका खेल्नुपर्ने बताए ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपाल भाषा र सम्पदा संरक्षणको नीति विद्यालयमा पढाउने काम अगाडि बढाइरहेको बताए ।
