काठमाडौँ — नक्कली परीक्षार्थी बनेर आफ्नै काकाको परीक्षा दिन गएको आरोपमा जुम्लाका केशव रोकाया पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका–१४ स्थित जनप्रशासन क्याम्पसमा मंगलबारको एमपीए तेस्रो सेमेस्टरको परीक्षामा काका दानबहादुर रोकायाको तर्फबाट परीक्षामा सहभागी भएको आरोपमा जुम्ला चन्दननाथ नगरपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–४, धुम्बाराहीमा बसोबास गर्दै आएका २६ वर्षीय केशव रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।
क्याम्पसले दिएको जानकारीका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका केशवमाथि शिक्षासम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार शिक्षासम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ ।
