काठमाडौँ — स्यस्यः समाज ललितपुर र ललितपुर महानगरपालिका वडा नम्बर १६ द्वारा संयुक्त रुपमा आयोजित मस्तिष्क मृत्यु र मृत्युपश्चात अंग दानबारे सचेतना अभियानमा २१ जनाले अंगदान गरेका छन् ।
ब्रेन डेथ अर्थात मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न मिल्ने कानुन बनेको ८ वर्षमा ५ जनाबाट मात्रै अंग प्राप्त गर्न सफल भएको छ ।
दैनिक मस्तिष्क मृत्यु हुने व्यक्तिहरु भएता पनि अंग दान नहुनुका विभिन्न कारणमध्ये मस्तिष्क मृत्युबारे जनचेतनाको कमी भएको भन्दै सचेतना अभियान सुरु गरेको स्यस्यः समाजले जनाएको छ ।
स्यस्यः समाज ललितपुरका सचिव चन्द्रकृष्ण श्रेष्ठले मरेर खारानी भएर जाने अंग कसैको पनि खेर नजाओस् भनेर मस्तिष्क मृत्युबारे सचेतना अभियान थालेको बताए ।
ललितपुर महानगरपालिका वडा नम्बर १६ वडाध्यक्ष निर्मलरत्न शाक्यले अंगदान गर्नेबारे सचेतना संघसंस्था, शैक्षिक संस्थामा पनि क्रमशः आयोजना गर्दै जाने बताए ।
मुलुकभर दुवै मृगौला फेल भएर अंग प्रत्यारोपण गराउन पालो कुरिररहेका २१ हजार भन्दा बढी छन् । मस्तिष्क मृत्यु भएका व्यक्तिको फोक्सो, मिर्गौला, कलेजो, प्यांक्रियाज, मुटु र सानो आन्द्रा गरी कम्तीमा ८ वटा अंग प्रत्यारोपण गर्न मिल्छ ।
कार्यक्रममा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलाई सम्मान गरिएको छ । धर्मभक्त प्रत्यारोपण केन्द्रका निर्देशक डा.श्रेष्ठले मस्तिष्क मृत्यु बारे अभियान सञ्चालन गर्न एक पैसा पनि खर्च नहुने तर अबौं रुपैयाले पनि यसको मूल्य तिर्न नसक्ने बताए । ‘विदेशमा ८० प्रतिशत अंग प्रत्यारोपण मस्तिष्क मृत्यु भएकाहरुबाट हुन्छ,’ उनले भने ।
