काठमाडौँ — ललितपुर महानगरपालिका र डिभिजन सडक कार्यालय ललितपुरले कान्ति लोकपथअन्तर्गत सातदोबाटो–ढोलाहिटी र चक्रपथ–लगनखेल सडक खण्ड साताभित्र कालोपत्र गरिसक्ने बताए पनि अझै सुरसार छैन ।
ललितपुर महानगरपालिकाले लेले टिकाभैरवबाट बग्ने राजकुलोको पानी लगनखेलस्थित सप्तपाताल र पले स्वाँ (कमल पोखरी) मा ल्याउन सडकको भित्र भागमा पाइप बिछ्याउन सात महिनाअघि खनेको थियो ।
पाइप बिछ्याउन लोटस कन्स्ट्रक्सन कम्पनीले ललितपुर महानगरपालिकासँग एक करोड २५ लाख रुपैयाँमा २०८१ असार २० गते ठेक्का पाएको थियो भने बिल्ड डोब बिल्ड्रर्स कम्पनीले कालोपत्र गर्न २०८१ चैत्र ६ गते ८८ लाख ७८ हजार रुपैयाँमा डिभिजन सडक कार्यालय ललितपुरसँग ठेक्का पाएको थियो ।
डिभिजन सडक कार्यालय ललितपुरका प्रमुख गोपाल प्रसाद खकुरेलले पानी परेर कालोपत्र गर्न नसकेको दाबी गरे । राजकुलोको लम्बाई साढे २२ किमि छ । पोखरीमा पानी ल्याउन ललितपुर महानगरपालिकाले पहिलो चरणमा कान्ति लोक पथ अन्तर्गत सुनाकोठी चिबहालदेखि लगनखेल (३.५ किमी) सम्म काम थालेको हो । दोस्रो चरणमा सुनाकोठी बाङगेधारादेखि चिबहालसम्म ल्याउने महानगरको योजना छ ।
गोदावरी नगरपालिका क्षेत्रभित्र पर्ने राजकुलो मर्मत तथा सरसफाइ गर्न ललितपुर महानगरले गोदावरीलाई एक करोड ५० लाख रुपैयाँ दिइसकेको छ । गोदावरी नगरपालिकाले कुलो बनाउन टेन्डर आह्वान गरिसकेको जनाएको छ ।
अहिले कालोपत्र गर्न अझै सबै ठाउँमा ग्रबेल बिछ्याएको छैन । योजना अनुसार ढोलाहिटी क्षेत्रमा पर्खाल पनि बनाएको छैन । समयमा कालोपत्र नहुँदा अहिले उक्त सडक खण्ड अस्तव्यस्त बनेको छ । सडक खाल्डाका कारण सर्वसाधारण जोखिम मोलेर वारपार गर्न बाध्य छन् । पैदलयात्रीले सास्ती भोग्नु परेको छ ।
दुर्घटना बढ्न थालेको छ । ललितपुर महानगरपालिका–१५ वडास्थित सप्तपाताल पोखरी १५ रोपनी र पले स्वाँ पोखरी ३० रोपनीमा फैलिएको छ । अस्तित्व गुमिसकेको सप्तपाताल पोखरीको पुरानै शैलीमा फर्काउन स्थानीय पूर्ण स्थापितलगायतले डेढ दशक लामो कानुनी संघर्ष गरेका थिए।
