बाढीबाट हुने जोखिम न्यूनीकरणका लागि उपप्रधानमन्त्री सिंहको चासो, गरे धोबिखोला अनुगमन

असार ४, २०८२

कान्तिपुर संवाददाता

Deputy Prime Minister Singh's interest in reducing the risk of floods, did Dhobikhola monitoring

काठमाडौँ — उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार धोबीखोला करिडोरको अनुगमन गरेका छन् ।

उपप्रधानमन्त्री सिंहसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले बिहानै सो क्षेत्रको निरीक्षण गरेको हो । उनले वर्षालागेसँगै हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि चासो राखेका हुन् ।

टोलीले धोबिखोलामा मन्त्रालय अन्तर्गत भइरहेका कामहरु, ढल व्यवस्थापन र अतिक्रमित सार्वजनिक जग्गा लगायतको अवलोकन गरेको छ । सो क्षेत्रमा अवलोकन गर्ने क्रममा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई धोबिखोलालाई स्वच्छ बगाउन र अतिक्रमित सार्वजनिक जग्गा कानुनसम्मत फिर्ता ल्याउनका लागि तत्काल आवश्यक कार्यअघि बढाउन निर्देशन दिए ।

वर्षा लागेसँगै धोबिखोलाले पार्न सक्ने असर न्यूनीकरणका लागि पनि आवश्यक काम अघि बढाउन पनि उपप्रधानमन्त्री सिंहले मन्त्रालय मातहतका निकायलाई सचेत गराएका छन् ।

उपप्रधानमन्त्री सिंहलाई बूढानीलकण्ठ भद्रकाली मन्दिरदेखि कपन साततलेसम्मको वस्तुगत अवस्थाबारे काठमाडौं उपत्यका विकास प्राधिकरणले जानकारी गराएको थियो । काठमाडौं उपत्यकाको नदी र करिडोरको विषयलाई सहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत विकास समितिले हेर्दै आएको छ ।

उपप्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै काठमाडौं उपत्यकाका नदिनाला सफाइ र सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिँदै आएका छन् । यस वर्षको बजेटमा समेत सहरी विकास मन्त्रालयले उपत्यकाको नदिनाला संरक्षण र कोरिडोर विस्तारमा ३ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ ।

उपप्रधानमन्त्री सिंहसँगै मन्त्रालयका सचिव गोपाल सिग्देलसहितको टोली, काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त जानुका ढकाल, काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत , अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका प्रतिनिधि सहभागि थिए । धोबिखोला करिडोरलाई व्यवस्थित गर्ने, सो क्षेत्रमा मिचिएका सार्वजनिक जग्गा अतिक्रमण हटाउने विषयमा काठमाडौं उयपत्यका विकास प्राधिकरणले उपप्रधानमन्त्री सिंहलाई वस्तुस्थितिबारे जानकारी गराएको काठमाडौं आयुक्त बस्नेतले जानकारी दिए ।

प्राधिकरणले उपत्यकाका नदि किनारमा मिचिएका सार्वजनिक जग्गाबाट अतिक्रमण हटाउनका लागि काम अघि बढाइरहेको छ । धोबिखोला क्षेत्रमा पनि अतिक्रमित जग्गा छिट्टै फिर्ता ल्याउने गरि काम भइरहेको आयुक्त बस्नेतले बताए ।

कान्तिपुर

Link copied successfully