घटनास्थलबाट विषादी र हथौडा बरामद
काठमाडौँ — काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक घरको कोठाबाट एकै समयमा दुई जनाको शव फेला परेको छ ।
शुक्रबार राति करिब ९ बजेर ४० मिनेट जाँदा थ्री स्टार किड्स जोन स्कुलको कम्पाउन्डभित्र सुनितासिंह ठकुरीको घरमा उनीहरू मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार भारत, पञ्जाब चण्डीगढ घर भएका ५४ वर्षीय परमनारायण गिलले सो घर भाडामा लिएर बस्दै आएका थिए । घरको तलको बीच कोठामा भेटिएको शव धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल सोही घरमा काम गरी बस्ने २८ वर्षीया अञ्जना तामाङ र भारतीय नागरिक परमनारायण गिलको हो ।
बोहराका अनुसार तामाङ सोफामा मृत अवस्थामा भेटिएकी थिइन् । उनको टाउकोमा चोट लागेको देखिएको छ । गिल भने कोठाको भुइँमा मृत अवस्थामा फेला परेका थिए । उनको शरीरमा भने बाह्य चोटपटक देखिएको छैन ।
घटनास्थल नजिकै फलामको हृयामर र ‘सेल्फोस’ नामक विषादीसमेत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको प्रकृति शंकास्पद देखिएकाले थप अनुसन्धान चलिरहेको बोहराले कान्तिपुरलाई जानकारी दिए ।
