३९ जनासँग ११ करोड रुपैयाँभन्दा बढी उठाएको आरोप
काठमाडौँ — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-२ बस्ने ४४ वर्षीय रवीन्द्र बासुकला, काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने मोरङ रतुवामाई नगरपालिका-१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने धनुषा सबैला नगरपालिका-१२ घर भएका ४७ वर्षीय अरूण राज शर्मा रहेका छन् ।
पक्राउ परेकामध्ये रवीन्द्रले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ६० हजार रूपैयाँ तथा लक्ष्मण र अरूणले यूके पठाइदिन्छु भन्दै ३८ जना पीडितहरूबाट ११ करोड ६ लाख ९७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रवीन्द्रलाई भक्तपुर नगरपालिका-२ ब्यासीबाट सोमबार तथा लक्ष्मण र अरूणलाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट आइतबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
