काठमाडौँ — माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा मध्यपुरथिमिका नेता, समाजसेवी कृष्णलाल गोजा श्रेष्ठको सोमबार बिहान निधन भएको छ ।
२०१८ सालदेखि वामपन्थी राजनीतिमा क्रियाशील रहेका श्रेष्ठ एकता केन्द्र र जनमोर्चा हुँदै नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय थिए। श्रेष्ठ २०३९ सालमा तत्कालीन बालकुमारी गाविसको उपाध्यक्षसमेत निर्वाचित भएका थिए । सरल र मिलनसार नेताका रुपमा चिनिएका श्रेष्ठले यसक्षेत्रमा सामाजिक कार्यहरूको नेतृत्व गर्दै आएका थिए।
उनको सोमबारै मध्यपुरथिमिको दक्षिणबाराहीमा अन्त्येष्टि गरिएको छ। उनलाई माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ लगायत नेताहरूले अन्तिम श्रद्धाञ्जली दिए।
भूमि ब्यवस्था आयोगको पूर्वजिल्ला सदस्यसमेत रहेका श्रेष्ठ नेपाल भाषा संरक्षणको क्षेत्रमा समेत सक्रिय थिए। उनी राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका समेत संस्थापक सदस्य हुन् । मृतक श्रेष्ठका दुई छोरा र दुई छोरी छन्।
