काठमाडौँ — युवा तथा खेलकुद मन्त्रालयको मातहतमा राष्ट्रिय युवा परिषद्ले देशभरका युवा उद्यमी हरूलाई एउटै संरचनामा आबद्ध गर्दै ‘राष्ट्रिय युवा उद्यमी सञ्जाल’ गठन गरेको छ । युवा उद्यमी सञ्जालको अध्यक्षमा सुशील पराजुली सर्वसम्मत चयन भएका छन्। पराजुली विगत लामो समयदेखि ई–कमर्स क्षेत्रमा संलग्न व्यवसायी हुन् ।
सञ्जालमा तीन उपाध्यक्षहरू चयन भएका छन् । ई–कमर्स क्षेत्रमा सक्रिय युवा व्यवसायी राजकुमार अधिकारी, होटल तथा होस्टल व्यवसायमा क्रियाशील उद्यमी मनिषजङ्ग शाही, र भाषा तालिम तथा ट्राभल कम्पनी सञ्चालन गर्दै आएका सुदीपराज पुरी उपाध्यक्ष पदमा चयन भएका छन्।
त्यस्तै, सचिव पदमा डिजिटल व्यवसाय क्षेत्रमा संलग्न आदर्श दाहाल, सह–सचिवमा अनुज धिताल, कोषाध्यक्षमा सर्मीला खनाल र सह–कोषाध्यक्षमा सुरेन्द्र अधिकारी चयन भएका छन् ।
सञ्जालको सदस्यका रूपमा संकर खनाल, राज तामाङ, सन्दिप केसी, इन्दिरा लोहनी, सुरेन्द्र गुरुङ, रबिन शाह, रेसम कट्वाल र कल्पना बराल चयन भएका छन् ।
उद्यमी सञ्जालको उद्देश्य युवा उद्यमीहरुलाई एकताबद्ध बनाइ उनीहरुको हकहित, अनुभव आदानप्रदान, उद्यमशीलता प्रवर्धन तथा नीति निर्माण प्रक्रियामा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्नु र व्यावसायिक गतिविधिमा संलग्न युवाहरूबीच सहकार्यको वातावरण तयार गर्नु रहेको राष्ट्रिय युवा परिषदका बोर्ड सदस्य विनोद कुमार शाहीले बताए।
