स्थानीय सरकारको कार्यकारी प्रमुख मेयर भएकाले आदेश पालना गरेँ : राजुनाथ पाण्डे

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

Being the executive head of the local government, I followed the order: Rajunath Pandey

काठमाडौँ — काठमाडौं महानगर प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले स्थानीय सरकारको कार्यकारी प्रमुख मेयर हुने भएकाले दिइएको आदेशअनुसार पालना गरेको बताएका छन् । 

काठमाडौँ महानगर प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेले स्थानीय सरकारको कार्यकारी प्रमुख मेयर हुने भएकाले दिइएको आदेशअनुसार पालना गरेको बताएका छन् । 

जेठ ६ मा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेलाई सात दिनको समय राखेर स्पष्टीकरण सोधेका थिए । तर पाण्डेले स्पष्टीकरणको विषयमा केही नबोल्ने बताएका छन् । 

‘मैले स्पष्टीकरणको विषयमा बुझाएको/नबुझाएको केही भनेको छैन । कसले भनेको पनि थाहा छैन,’ उनले भने, ‘यो आन्तरिक र प्रशासनिक कुरा हो । बाहिर आउने विषय होइन । त्यसैले म स्पष्टीकरणको विषयमा बोलिनँ ।’ तर स्थानीय सरकारको प्रमुख भनेको मेयर हुने र प्रशासनिक कुरा प्रमुख प्रशासकीय अधिकृतसँग जोडिने उनले बताए ।

‘तर महानगर, भन्नाले स्थानीय सरकारको प्रमुख, कार्यकारी प्रमुख हो । त्यसैले हाम्रो प्रमुख प्रशासकीय अधिकृत पनि मेयरसँग उत्तरदायी हुनुहुन्छ,’ उनले भने, ‘त्यसैले माथिल्लो अधिकारीबाट आदेश आएपछि मैले पालना गर्नुपर्छ ।’ 

यस विषयमा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेले बुँदागत रूपमा स्पष्टीकरण बुझाएको बताए । ‘स्पष्टीकरण बुझाउनु भएको छ । मैले लिएर राखेको छु । मैले सरर्र पढेको छु,’ उनले भने, ‘आफ्नो कर्तव्य पालनको सिलसिलामा आदेशको पालना गरेको छु भन्नु भएको छ । अब यो अध्ययनको क्रममा छ ।’ उक्त स्पष्टीकरणलाई थप अध्ययन गरी अगाडी बढ्ने उनले जानकारी दिए ।

गुरागाईँले आफू कार्यालयमा हाजिर गर्न आउँदा अवरोध गरेको, कार्यालय प्रवेशमा अवरोध गरिएको, जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरिएको, प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाइएको र हाजिर पुस्तिका कब्जामा लिइएको विषयमा स्पष्टीकरण सोधेका थिए ।

महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी महानगरको प्रमुख प्रशासकीय अधिकृत मातहत परिचालन हुने व्यवस्था छ । गत पुस ७ देखि बिदामा रहेका गुरागाईँ चैत २१ गते कार्यालय हाजिर गर्न जाँदा नगर प्रहरी बलका प्रमुख पाण्डेले अवरोध पुर्‍याएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully