हज यात्रीलाई विमानस्थल पुगेरै बिदाई गरे मन्त्री यादवले

जेष्ठ ८, २०८२

कान्तिपुर संवाददाता

Minister Yadav bid farewell to Haj pilgrims on reaching the airport

काठमाडौँ — खानेपानीमन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गरेका छन् ।

मक्कामा हज (विशेष प्रकारको नमाजर प्राथना) गर्न नेपाली मुस्लिम साउदी अरेबिया पुग्ने भएकाले आफूले विमानस्थलमै पुगेर उनीहरुलाई बिदाई गरेको मन्त्री यादवले बताए । 

उनले भने, ‘हजका लागि जाने ‘हाजी’ हरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर मैले फूलमाला तथा खादा लगाई बिदाई गरेको छु । उहाँहरुको यात्रा धर्म, आस्था र मानवताप्रति प्रेरणादायी बन्न सकोस् भन्ने कामना गर्दछु ।’

मुस्लिम धर्मावलम्बीको  आस्था र भरोसाको रूपमा चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षै पिच्छे हजका लागि लाखौं हजयात्रीहरू जाने गर्छन् ।

नेपालबाट पनि सन् २०२५ को हजका लागि एक हजार १ सय ७१  जना जाने जनाइएको छ । पहिलो चरणको लागि यही जेठ ३ गते ५५ जना नेपाली हज यात्रु साउदी अरेबिया गएका जनाइएको छ ।

देशैभरि छरिएर रहेका मुस्लिम नेपालीहरुलाई जिल्लास्तरीय हज कमिटीले मक्का जानेहरुलाई सिफारिस गरेर पठाएपछि केन्द्रीय हज कमिटीले कोटाअनुसार यात्राको प्रबन्ध मिलाउने व्यवस्था गर्छ ।  

मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठूलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्वभरका मुस्लिमहरु आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्दछन् ।

साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा विशेष दिन पारेर हज गर्ने गरिन्छ । हजका लागि विश्वभरीबाट मुस्लिमहरु मक्का पुग्ने गर्दछन् ।

कान्तिपुर

Link copied successfully