काठमाडौँ — निर्मल निवासले काठमाडौं महानगरपालिकालाई तीनकुने घटनामा गरेको क्षति र फोहोरको जरिवाना नबुझाएको पाइएको छ ।
महानगर प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले निर्मल निवासले अहिलेसम्म जरिवाना नतिरेको जानकारी दिए । र, यसबारे महानगर कार्यालयमा जानकारी गराउने उनले बताए ।
गत चैत १५ मा राजावादी पक्षधरले तीनकुने क्षेत्रमा आन्दोलन गरेको थियो । सो क्रममा महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सडक र सडकपेटीमा जथाभावी फोहोरमैला गराएको र भौतिक संरचनामा क्षति गराएको भन्दै विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गराएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना काटेको पत्र बुझ्न नमानेपछि महानगरले हुलाकमार्फत पठाएको थियो । निर्मल निवासले पत्र बुझ्न नमाने पनि उक्त जरिवाना भने सरकारी बाँकी असुलउपरमा रहने महानगरले जनाएको छ ।
